साउन १९, २०८३ मंगलबार

काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार बेपत्ता तीन जनाको खोजी कार्य मंगलबार पनि जारी छ।

सोमबार बसको ठक्करपछि कार सुनकोशी नदीमा खसेर बेपत्ता भएका व्यक्तिहरूको खोजी गरिएको भए पनि नदीमा आएको बाढीका कारण पानीको बहाव उच्च हुँदा उद्धार तथा खोजी कार्य प्रभावित भएको थियो। साँझसम्म पनि कुनै सफलता हात नलागेपछि खोजी रोकिएको थियो।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार रात परेपछि स्थगित गरिएको खोजी कार्य मंगलबार बिहानदेखि पुनः सुरु गरिएको छ। नदीमा पानीको बहाव अझै तीव्र रहेकाले उद्धारमा चुनौती थपिएको उनले बताए।

बेपत्ता हुनेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–९ का १७/१८ वर्षीय सुजन बलमपाकी मगर, गोलन्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का दिलकुमार लामा रहेका छन्।

खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१०–०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेको थियो।