साउन १९, २०८३ मंगलबार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुनसरी र विराटनगरमा भएका पछिल्ला घटनाको जिम्मेवारी सरकारको नेतृत्वले लिनुपर्ने बताएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले सरकारको सुरक्षा व्यवस्थापन कमजोर हुँदा नागरिकले ज्यान गुमाउनुपरेको आरोप लगाए।

सुनसरीमा भएको साम्प्रदायिक तनाव र त्यसपछि सिर्जित परिस्थितिमा चार जना युवाको मृत्यु भएको उल्लेख गर्दै उनले घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने धारणा राखे।

सांसद बरालले समयमै सम्भावित जोखिम नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न सकेको भए दुःखद अवस्था आउनबाट रोक्न सकिने बताए। उनले चार जनाको मृत्यु सामान्य घटना नभएको भन्दै सरकार जवाफदेही हुनुपर्ने माग गरे।

सरकारले अघि बढाएको छानबिन प्रक्रियामाथि पनि असन्तुष्टि जनाउँदै बरालले निष्पक्ष र प्रभावकारी अनुसन्धानका लागि अधिकारसम्पन्न आयोग गठन गर्न आग्रह गरे। पूर्वन्यायाधीशको नेतृत्वमा आयोग बनाएर घटनाको वास्तविक कारण पत्ता लगाउनुपर्ने र दीर्घकालीन समाधान खोज्नुपर्ने उनको भनाइ थियो।

यसैगरी, विराटनगरस्थित प्रतिष्ठित औद्योगिक समूह देवेनरा ग्रुपमाथि गरिएको छापाको प्रक्रियाप्रति पनि उनले प्रश्न उठाए। छापा मार्ने शैलीप्रति असन्तुष्टि जनाउँदै उनले सरकारको कार्यशैलीमाथि आलोचना गरे।

बैठकमा सांसद बरालले बढ्दो महँगी, ग्यासका लागि नागरिकले भोग्नुपरेको सास्ती तथा आधारभूत आवश्यकता पूरा गर्न सरकार असफल भएको आरोप लगाउँदै समग्र सरकारी कामकारबाहीको आलोचना गरेका थिए।