साउन १९, २०८३ मंगलबार

काठमाडौं । बर्दियाका ग्रामीण बस्तीमा आधारभूत आवश्यकतासमेत सहज रूपमा उपलब्ध हुन नसकेको भन्दै सांसद ठाकुरसिंह थारूले सरकारको ध्यानाकर्षण गराएका छन्।

राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै सांसद थारूले बर्दियाको कोक्राखेलीबाट आफूले जनताका समस्याबारे आवाज उठाउँदै आएको बताए।

उनले किसानले खेतमा हाल्ने मल नपाएको, घरमा खाना पकाउने ग्यासको अभाव रहेको तथा ४१ डिग्रीसम्मको गर्मीमा विद्युत् अभावका कारण पंखासमेत चलाउन नसक्ने अवस्था रहेको बताए।

त्यस्तै, बस्तीमा खानेपानीको समस्या रहेको, सडक भए पनि आवश्यक रूपमा ग्राभेल नभएको तथा अस्पताल भए पनि आईसीयूजस्ता अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध नभएको उनले बताए।

विद्यालय भए पनि गुणस्तरीय शिक्षा उपलब्ध हुन नसकेको उल्लेख गर्दै सांसद थारूले बर्दियाका विभिन्न बस्तीमा सरकारको पर्याप्त ध्यान पुग्न नसकेको गुनासो गरे।

उनले संविधानले ग्यारेन्टी गरेका नागरिकका मौलिक अधिकार कार्यान्वयनका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै यस्ता विषयमा सदनमा पटक–पटक कडा रूपमा आवाज उठाउनुपर्ने अवस्था नआओस् भन्ने अपेक्षा व्यक्त गरे।