काठमाडौं । स्याङ्जाका विभिन्न स्थानमा निरन्तरको वर्षाका कारण बाढीपहिरोबाट जनधनको ठूलो क्षति भएको भन्दै सांसद झविलाल डुम्रेले सरकारको ध्यानाकर्षण गराएका छन्।
राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै सांसद जुमरेले आफ्नो निर्वाचन क्षेत्र स्याङ्जाका विभिन्न स्थानमा १४ दिनसम्म जनभेटघाट, अन्तरक्रिया तथा स्थलगत अवलोकन गरेर फर्किएको बताउँदै स्थानीयका आशा, समस्या र पीडा सदनसमक्ष राखेका हुन्।
उनले कालेङ नगरपालिका–६ मा असार ३२ गते पहिरोका कारण धनबहादुर थापाले ज्यान गुमाएको घटना उल्लेख गर्दै निरन्तरको वर्षाका कारण स्याङ्जाका विभिन्न स्थानमा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याएको बताए।
त्यस्तै, वालिङ नगरपालिकामा सिद्धार्थ राजमार्गमा आफ्नै लेनमा मोटरसाइकल चलाइरहेका समाजसेवी विनोद अर्याललाई सोही दिशाबाट आएको ट्रेलरले ठक्कर दिँदा अकालमै ज्यान गुमाउनुपरेको घटनाप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए।
सांसद जुमरेले दुवै घटनामा ज्यान गुमाएका धनबहादुर थापा र विनोद अर्यालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरे।
यसैगरी, पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं स्याङ्जाका नेता गोपालमान श्रेष्ठको निधनप्रति पनि उनले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरे।