साउन १९, २०८३ मंगलबार

काठमाडौं । सांसद ठूका भद्राले विश्वभर नेपाललाई चिनाउन महत्वपूर्ण योगदान दिएका साहसी पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) लगायत दिवंगत नेपाली आरोहीहरूको सम्मानमा सरकारले आवश्यक निर्णय लिनुपर्ने माग गरेकी छन्।

राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै सांसद भद्राले निर्मल पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरेर नेपाललाई विश्वभर चिनाएको स्मरण गरिन्।

उनले निर्मल पुर्जाको साहस, नेतृत्व र समर्पणले नेपाली युवाहरूलाई ठूलो प्रेरणा दिएको बताउँदै उनको निधनप्रति गहिरो दुःख व्यक्त गरिन्।

दुःखद् घटनापछि प्रधानमन्त्रीको तर्फबाट सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेर मात्रै सरकारको जिम्मेवारी पूरा नहुने उनको भनाइ थियो। निर्मल पुर्जालगायत दिवंगत नेपाली आरोहीहरूको सम्मानमा सरकारले आवश्यक निर्णय गर्नुपर्ने उनले जोडदार माग गरिन्।

सांसद भद्राले पर्वतीय क्षेत्रमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि मौसम पूर्वानुमान प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने तथा आवश्यक सूचना समयमै प्रवाह गर्ने व्यवस्था सुदृढ गर्नुपर्नेमा समेत जोड दिइन्।

उनले दिवंगत सम्पूर्ण पर्वतारोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिन्।