साउन १९, २०८३ मंगलबार

काठमाडौं । अव्यवस्थित तथा अवैध जग्गा प्लटिङका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएको भन्दै सांसद तारा विश्वकर्माले सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै सांसद विश्वकर्माले तीव्र सहरीकरणसँगै कृषि योग्य भूमि, वन क्षेत्र, खाली जमिन तथा खोला–खोल्सी आसपाससमेत प्लटिङ गर्ने प्रवृत्ति बढेको बताइन्।

उनका अनुसार जथाभावी प्लटिङका क्रममा डोजर प्रयोग गर्दा प्राकृतिक संरचना बिग्रिनुका साथै बाढी, पहिरो र डुबानको जोखिम थप बढिरहेको छ। वर्षायाममा यस्ता अव्यवस्थित रूपमा प्लटिङ गरिएका क्षेत्रमा पटक–पटक क्षति दोहोरिने गरेको उनले बताइन्।

नागरिकले जीवनभरको कमाइ लगानी गरेर खरिद गरेको जग्गा नै भविष्यमा जोखिमयुक्त बस्तीमा पर्न सक्ने अवस्था चिन्ताजनक रहेको सांसद विश्वकर्माको भनाइ थियो।

उनले विकासका नाममा भइरहेको अवैध तथा अव्यवस्थित प्लटिङले आगामी दिनमा ठूलो मानवीय तथा आर्थिक क्षति निम्त्याउन सक्ने चेतावनी दिइन्।

सांसद विश्वकर्माले अवैध प्लटिङ र विपद् जोखिमको विषयलाई उच्च प्राथमिकतामा राखी आवश्यक नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरिन्। साथै, सम्बन्धित निकायबाट नियमित अनुगमन र नियमनलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिइन्।।