साउन १९, २०८३ मंगलबार

काठमाडौँ । श्रम संस्कृति पार्टीले मुलुकको सुरक्षा व्यवस्था, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा पार्टीका सांसद हर्कराज राईले देशमा नेपाली सेनाबाहेक अन्य कुनै पनि प्रकारका सेनाको अस्तित्व स्वीकार गर्न नसकिने बताएका छन्।

सांसद राईले विभिन्न नाम र स्वरूपमा समूहहरू गठन हुने तथा सरकारले त्यस्ता समूहसँग संवाद गर्ने अभ्यासप्रति आपत्ति जनाए। सुनसरी र मधेसका पछिल्ला घटनाका क्रममा चर्चामा आएको हिन्दु सम्राट् सेनातर्फ संकेत गर्दै उनले नेपालमा राज्यको आधिकारिक सेना नेपाली सेना मात्र रहेको बताए।

उनले भने, “नेपालमा एउटै मात्र सेना छ, त्यो नेपाली सेना हो। ठाउँ–ठाउँमा सेना बनाउने अधिकार कसले दियो ? यस्ता समूहसँग सरकारले वार्ता होइन, आवश्यक कारबाही गर्नुपर्छ।”

सांसद राईले आफू २०८३ साल साउन ५ गते जनकपुर जाँदा एउटा समूहले अवरोध गर्ने प्रयास गरेको र आफ्ना सहयोगीहरूमाथि कुटपिट भएको घटना पनि संसदमा उठाए। जनप्रतिनिधिले आफ्नै देशभित्र स्वतन्त्र रूपमा हिँडडुल गर्न नसक्ने अवस्था आउनु चिन्ताजनक भएको भन्दै उनले सरकारसँग जवाफ माग गरे।

उनले उक्त घटनाबारे आफूले गृहमन्त्रीलाई व्यक्तिगत रूपमा जानकारी गराएर कारबाहीको माग गरे पनि त्यसको प्रगति के भयो भन्नेबारे प्रश्न गरे।

यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति अझै संसदको अभिलेखबाट नहटाइएको भन्दै सांसद राईले असन्तुष्टि जनाए। उनले प्रधानमन्त्रीले उक्त भनाइ सच्याउनुपर्ने माग गरे।

सांसद राईले सरकार घटना भएपछि मात्र सक्रिय हुने गरेको आरोप लगाउँदै समस्या आउनुअघि नै सुरक्षा चुनौती पहिचान गरी आवश्यक कदम चाल्नुपर्ने बताए।