काठमाडौं — ललितपुरको ग्वार्कोमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको बस ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएपछि दुर्घटना भएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। घाइते १० जनाको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि बीएण्डबी अस्पताल पठाएको छ।
प्रहरी वृत्त सातदोबाटोका डीएसपी वकिल सिंहको नेतृत्वमा खटिएको टोलीले उद्धार तथा आवश्यक अनुसन्धान अघि बढाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।