:काठमाडौं — निर्देशक ज्ञानेन्द्र देउजाको नयाँ फिल्म ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रममा निर्माण पक्षले फिल्मको १ मिनेट ५१ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो।
टिजरमा पारिवारिक सम्बन्धभित्र देखिने मनमुटाव, भावनात्मक उतारचढाव र देउरानी–जेठानीबीचको घरायसी विवादलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। टिजरको सुरुवातमै हिउँवाला गौतम मध्यरातमा घरबाट निस्किएको दृश्य देखाइएको छ भने त्यसपछि परिवारका सदस्यहरू उनको खोजीमा लागेको देखिन्छ।
सिक्वेलका रूपमा निर्माण गरिएको फिल्मले पहिलो भागको कथाको स्वादलाई निरन्तरता दिँदै नयाँ रहस्य र मोडहरू थपेको संकेत गरेको छ। विशेषगरी अभिनेता आर्यन सिग्देलको फरक लुक्सले दर्शकमा थप चासो जगाएको छ। टिजरमा उनलाई साङ्लोले बाँधिएको अवस्थामा देखाइएको छ, जसले कथामा अप्रत्याशित घटनाक्रम आउने अनुमान गरिएको छ।
फिल्ममा आँचल शर्मा र केकी अधिकारी देउरानी–जेठानीको भूमिकामा देखिएका छन् भने महेश त्रिपाठी र कुशल विष्टले दाजुभाइको भूमिका निर्वाह गरेका छन्। यसबाहेक सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जनलगायत कलाकारको अभिनय रहेको छ।
‘झिँगेदाउ २’ आगामी असोज २ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ। फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले तयार पारेका हुन् भने कथा गोविन्द फुयाँल र शिशिर चालिसेले लेखेका छन्।
सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्म कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा निर्माण भएको हो। फिल्ममा विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ।
टिजर सार्वजनिक कार्यक्रममा सहभागी फिल्मकर्मीहरूले फिल्मको कथावस्तु र प्रस्तुतीकरणको प्रशंसा गरेका थिए। पारिवारिक परिवेशमा आधारित फिल्मले दर्शकको ध्यान खिच्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।
यसअघि प्रदर्शनमा आएको ‘झिँगेदाउ’ ले राम्रो व्यावसायिक सफलता हासिल गरेको थियो। सोही फिल्मको दोस्रो भागका रूपमा आएको ‘झिँगेदाउ २’ ले पनि दर्शकको अपेक्षा पूरा गर्ने निर्माण टिमको विश्वास छ।