साउन २१, २०८३ बिहिबार

जनकपुरधाम — यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले आर्थिक वर्ष २०८२/८३ मा ५७ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले सवारी दर्ता, नवीकरण तथा चालक अनुमतिपत्र वितरणलगायतका सेवाबाट कुल ५७ करोड १५ लाख ३० हजार ६३६ रुपैयाँ आम्दानी गरेको जनाएको छ।

कार्यालय प्रमुख वासुदेव मल्लका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा कमी आएको छ। आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले विभिन्न शीर्षकबाट ६६ करोड ६९ लाख ४३ हजार ९८० रुपैयाँ राजस्व उठाएको थियो। यस वर्ष अघिल्लो वर्षको तुलनामा करिब ९ करोड ५४ लाख रुपैयाँ कम राजस्व संकलन भएको हो।

राजस्व घट्नुमा गत भदौमा भएको ‘जेन–जी’ आन्दोलन तथा आर्थिक वर्षको अन्तिम समयमा यातायात व्यवस्था विभागले सफ्टवेयर निर्माण र व्यवस्थापनमा गरेको ढिलाइलाई प्रमुख कारण मानिएको छ। कार्यालयका अनुसार सेवाप्रवाह प्रभावित हुँदा त्यसको असर आम्दानीमा परेको हो।

गत आर्थिक वर्षमा जनकपुर यातायात कार्यालयबाट २१ हजार २९४ वटा नयाँ सवारी साधन दर्ता भएका छन्। दर्ता भएका सवारीमध्ये मोटरसाइकल १६ हजार ९५७, बस तथा ट्रक १८७, टेम्पो र विद्युतीय रिक्सा १ हजार ९०२, ट्याक्टर १ हजार २२ तथा जिप र कार २२६ वटा रहेका छन्।

यसै अवधिमा नयाँ चालक अनुमतिपत्र जारी तथा वर्ग थप गरी १३ हजार ३३८ जनालाई सवारी चालक अनुमतिपत्र वितरण गरिएको कार्यालयले जनाएको छ।