साउन ८, २०८३ शुक्रबार

काठमाडौं । नाबालिकालाई आर्थिक प्रलोभनमा पारी अवैध रूपमा डिम्ब (अण्डाणु) निकालिएको आरोपमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले लमजुङ घर भई ललितपुरको इमाडोलमा ब्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार गोतामेलाई साउन १ गते नियन्त्रणमा लिइएको थियो। उनीमाथि १७ वर्षीया किशोरीलाई पैसाको प्रलोभन देखाएर ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा रहेको आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) प्रक्रियामार्फत डिम्ब निकाल्न लगाएको आरोप लागेको छ।

अनुसन्धानका क्रममा गोतामेले प्रहरीसमक्ष डिम्ब निकालिएबापत ३० हजार रुपैयाँ प्राप्त गरेको बयान दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।

बिरामी भएपछि प्रहरीमा पुगिन् किशोरी

प्रहरीका अनुसार डिम्ब निकाल्ने प्रक्रियापछि किशोरीको स्वास्थ्यमा समस्या देखिएको थियो। त्यसपछि उनले घटनाबारे जानकारी दिँदै प्रहरीमा उजुरी गरेकी थिइन्।

एसपी मिश्रका अनुसार प्रारम्भिक अनुसन्धानमा किशोरीलाई चिनजानकै व्यक्तिमार्फत गोतामेसँग भेट गराइएको देखिएको छ।

“चिनेको साथीमार्फत राधिकासँग सम्पर्क भएको र उनले नै लगेर डिम्ब निकाल्न लगाएको भन्ने प्रारम्भिक विवरण आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ,” एसपी मिश्रले बताए।

चिकित्सकसहित अन्य व्यक्तिमाथि अनुसन्धान

प्रहरीले घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिको खोजी गरिरहेको जनाएको छ। अनुसन्धान अस्पतालमा संलग्न चिकित्सक तथा अन्य व्यक्तिसम्म समेत विस्तार गरिएको प्रहरीले जनाएको छ।

हाल प्रहरीले घटनालाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ।

डिम्ब कारोबारसम्बन्धी पुराना विवाद पनि सतहमा

नेपालमा यसअघि पनि नाबालिकाको डिम्ब तस्करीसम्बन्धी आरोपमा अनुसन्धान भएको थियो। उक्त घटनामा मुद्दा अघि नबढाउने निर्णय भएपछि तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी विवादमा तानिएकी थिइन्।

नयाँ घटनाले फेरि एकपटक नाबालिकाको सुरक्षा, प्रजनन स्वास्थ्य अधिकार र चिकित्सा प्रक्रियाको दुरुपयोगसम्बन्धी प्रश्न उठाएको छ।

प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन प्रमाण संकलन र संलग्न व्यक्तिहरूको भूमिकाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।