साउन ८, २०८३ शुक्रबार

भद्रपुर । सुरक्षाको जिम्मेवारीमा खटिँदै आएका एक सशस्त्र प्रहरी जवानको आफ्नै कार्यस्थलभित्र भएको दुर्घटनामा ज्यान गएको छ। झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत जवान सुदिम खत्रीको विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीका अनुसार बिहीबार साँझ गणभित्रको आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा खत्रीलाई करेन्ट लागेको थियो।

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ निवासी ३० वर्षीय खत्री बिहीबार साँझ करिब ५ बजे मर्मत कार्यमा संलग्न रहेका बेला दुर्घटनामा परेका थिए। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्‍याइएको थियो।

तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका थिए।

सशस्त्र प्रहरीका अनुसार खत्री प्राविधिक ज्ञानसमेत भएका जवान थिए। उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सम्बन्धित तालिम लिएका थिए।

सुरक्षा जिम्मेवारीसँगै प्राविधिक काममा समेत दक्षता राख्ने खत्रीको अप्रत्याशित निधनले सहकर्मी तथा परिवारजनमा शोक छाएको छ।

घटनापछि सशस्त्र प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। विद्युत् मर्मतका क्रममा भएको त्रुटि, सुरक्षा सावधानी तथा घटनाको परिस्थितिबारे थप विवरण अनुसन्धानपछि स्पष्ट हुने बताइएको छ।

कर्तव्यस्थलमा खटिएका सुरक्षाकर्मीको यसरी भएको निधनले कार्यस्थल सुरक्षाका मापदण्ड र प्राविधिक काममा अपनाउनुपर्ने सावधानीको विषयलाई समेत पुनः बहसमा ल्याएको छ।