काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी आन्दोलनलाई थप प्रभावकारी बनाउन आत्मसमीक्षा र सुधारको बाटो अवलम्बन गर्नुपर्ने बताएका छन्।
पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता नेपालले देशको राजनीतिमा देखिएका कमजोरी र विकृतिको प्रभाव वामपन्थी शक्तिहरूमा समेत परेको स्वीकार गरेका हुन्।
उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने हो भने विगतका निर्णय, नीति, व्यवहार र कार्यशैलीको निर्मम समीक्षा गर्नुपर्ने बताए। आफ्ना कमजोरी पहिचान नगरी अरूलाई मात्र दोष दिएर आन्दोलनलाई सही दिशामा लैजान नसकिने उनको भनाइ थियो।
“हामी कहाँ चुक्यौँ भन्ने विषयमा पनि गम्भीर भएर सोच्नुपर्छ। हाम्रा नीति, सोच, व्यवहार, जीवनशैली र जनतासँगको सम्बन्धमा रहेका कमजोरी सुधार्न आवश्यक छ,” उनले भने।
नेता नेपालले विगतका राजनीतिक अभ्यासको समीक्षा गर्दै वामपन्थी दलहरूले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए। उनले खुला छलफल र आत्ममूल्यांकनबाट मात्रै आन्दोलनलाई नयाँ गति दिन सकिने बताए।
राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेश नीति सञ्चालन गर्नुपर्ने
पूर्वप्रधानमन्त्री नेपालले सत्ता सञ्चालनमा पुगेपछि विदेशी शक्तिको दबाबमा पर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।
उनले अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलित र परिपक्व नीति आवश्यक रहेको उल्लेख गर्दै आफ्नो देशको हितका पक्षमा अडान राख्दा सम्बन्ध बिग्रने अवस्था नरहेको बताए।
“राष्ट्रको हितमा आफ्नो धारणा राख्दैमा अन्तर्राष्ट्रिय सम्बन्ध समाप्त हुँदैन। संसारका अभ्यास र अनुभवबाट सिकेर प्रभावकारी कूटनीति सञ्चालन गर्न सकिन्छ,” उनले भने।
उनले कतिपय अवस्थामा बाह्य शक्तिलाई खुसी पार्ने उद्देश्यले गलत निर्णय स्वीकार गर्ने अवस्था आएको भन्दै त्यसबाट सचेत हुनुपर्ने बताए।
नेपालका अनुसार अन्तर्राष्ट्रिय सम्बन्धमा न त अनावश्यक कठोरता आवश्यक छ, न त आत्मसमर्पणको नीति नै सही हुन्छ। परिस्थितिअनुसार विवेकपूर्ण निर्णय लिनुपर्ने उनको भनाइ थियो।
न अतिवादी सोच, न कमजोर आत्मसमर्पण
नेकपा सहसंयोजक नेपालले कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन सन्तुलित राजनीतिक दृष्टिकोण आवश्यक रहेको बताए।
उनले अतिवादी सोच र आत्मसमर्पणवादी प्रवृत्ति दुवैबाट टाढा रहँदै जनताको आवश्यकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा राखे।
“देश र जनताको हितलाई केन्द्रमा राखेर सही नीति र दृष्टिकोणका साथ अघि बढ्न सके मात्रै कम्युनिस्ट आन्दोलनले नयाँ उचाइ हासिल गर्न सक्छ,” उनले बताए।
उनले वामपन्थी शक्तिहरूबीच गम्भीर संवाद, सहकार्य र साझा उद्देश्य आवश्यक रहेको उल्लेख गर्दै बदलिँदो राजनीतिक परिस्थितिमा आन्दोलनलाई समयअनुकूल बनाउनु पर्ने बताए।
कार्यक्रममा सहभागी नेताहरूले पनि नेपालको वाम आन्दोलनलाई बलियो बनाउन संगठनात्मक सुधार, जनविश्वास पुनःनिर्माण र जनजीविकाका मुद्दामा केन्द्रित हुनुपर्ने धारणा राखेका थिए।