काठमाडौं । भारतमा मेडिकल प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर राजनीतिक विवाद झन् चर्किएको छ। विपक्षी दल कांग्रेसले सरकारमाथि दबाब बढाइरहेका बेला नेता राहुल गान्धीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्।
राहुलले शुक्रबार घाइते विद्यार्थीहरूसँग भेट गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षामन्त्री प्रधानलाई कडा आलोचना गरेका हुन्। उनले प्रधानलाई ‘अपराधी शिक्षामन्त्री’ को संज्ञा दिँदै शिक्षा प्रणाली कमजोर बनाएको आरोप लगाए।
“धर्मेन्द्र प्रधानलाई पदबाट हटाउनुपर्छ। उहाँ देशको शिक्षा प्रणाली असफल भएको प्रतीक बन्नुभएको छ। उहाँका कारण हजारौँ विद्यार्थी अन्यायमा परेका छन्,” राहुलले भने।
उनले भेट गरेका एक घाइते विद्यार्थीलाई पत्रकारहरूसामु समेत प्रस्तुत गरेका थिए। विद्यार्थीमाथि भएको आक्रमणका कारण गम्भीर चोट लागेको दाबी गर्दै राहुलले सरकारले विद्यार्थीका पीडा र मागलाई बेवास्ता गरेको आरोप लगाए।
सरकार संसदमा छलफल गर्न तयार
यता, नीट प्रश्नपत्र चुहावट प्रकरणबारे संसदमा छलफल गर्न सरकार तयार रहेको केन्द्रीय संसदीय मामिलामन्त्री किरेन रिजिजूले बताएका छन्।
उनले विपक्षी दललाई संसद सञ्चालनमा सहयोग गर्न आग्रह गर्दै संसदमार्फत विषय उठाउन सकिने बताए। उनले कांग्रेस नेता राहुल गान्धीले आफ्ना सांसदहरूलाई सदनको प्रक्रिया सहज बनाउन आग्रह गर्नुपर्ने धारणा राखे।
तर राहुलले भने आफूलाई संसदमा आफ्नो धारणा राख्ने अवसर नदिइएको आरोप लगाएका छन्।
“म बोल्न खोज्दा मेरो माइक्रोफोन बन्द गरियो। मलाई जवाफ दिने मौका दिइएन,” उनले भने।
राजीनामा नभएसम्म छलफलमा सहभागी नहुने अडान
राहुल गान्धीले शिक्षामन्त्री प्रधान पदबाट नहटेसम्म कुनै पनि औपचारिक छलफलमा सहभागी नहुने बताएका छन्।
उनले नीट प्रकरणमा सरकार जिम्मेवार बन्नुपर्ने भन्दै विद्यार्थीको भविष्यसँग जोडिएको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए।
“प्रधानलाई हटाइँदैन भने हामी कुनै पनि वार्ता वा छलफलमा जाने छैनौँ,” राहुलले भने।
यसैबीच कांग्रेसका वरिष्ठ नेता केसी वेणुगोपालले पनि प्रधानमन्त्रीलाई शिक्षामन्त्री प्रधानलाई पदबाट हटाउन आग्रह गरेका छन्।
उनले देशभरका विद्यार्थीको माग सम्बोधन गर्नुको सट्टा सरकारले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाए।
नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर भारतमा विद्यार्थी, विपक्षी दल र सरकारबीचको विवाद अहिले राजनीतिक बहसको प्रमुख विषय बनेको छ।