साउन ८, २०८३ शुक्रबार

अबुजा । कङ्गोमा फैलिएको इबोला प्रकोपले छोटो अवधिमै भयावह रूप लिन थालेको छ। पछिल्लो दुई महिनाभन्दा केही बढी समयमै एक हजारभन्दा बढी मानिसको मृत्यु भएपछि स्वास्थ्य अधिकारीहरू थप चिन्तित बनेका छन्।

कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबारसम्म हालको इबोला प्रकोपमा २ हजार ५३६ जना सङ्क्रमित पुष्टि भएका छन् भने १ हजार ३३ जनाको मृत्यु भइसकेको छ। गत मे १५ मा औपचारिक रूपमा घोषणा गरिएको यो प्रकोपको फैलावट विगतका ठूला महामारीको तुलनामा निकै तीव्र देखिएको छ।

तथ्याङ्कअनुसार सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीमा एक हजार जनाको मृत्यु हुन करिब आठ महिना लागेको थियो। तर अहिलेको प्रकोपमा त्यही सङ्ख्या दुई महिनाभन्दा केही बढी अवधिमै पुगेको छ।

त्यस्तै, हालको प्रकोपमा २ हजार ५०० भन्दा बढी सङ्क्रमितको संख्या पनि अघिल्लो ठूलो महामारीको तुलनामा निकै छिटो पुगेको स्वास्थ्य तथ्याङ्कले देखाएको छ।

दुर्लभ भाइरसका कारण फैलिएको प्रकोप

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार इबोला रोग इबोला भाइरस समूहअन्तर्गत पर्ने विभिन्न प्रकारका भाइरसबाट फैलिन्छ। तीमध्ये इबोला भाइरस, सुडान भाइरस र बुन्डिबुग्यो भाइरसले ठूला संक्रमण फैलाउने क्षमता राख्छन्।

हाल कङ्गोमा देखिएको प्रकोप बुन्डिबुग्यो भाइरसका कारण फैलिएको हो। यो तुलनात्मक रूपमा दुर्लभ प्रकारको भाइरस भएकाले यसको स्वीकृत खोप वा प्रभावकारी उपचार सीमित रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

यसअघि सन् २०१४–२०१६ मा फैलिएको भीषण इबोला महामारी भने सबैभन्दा सामान्य मानिने इबोला भाइरसका कारण भएको थियो।

कङ्गोका सीमित क्षेत्रमा केन्द्रित संक्रमण

हालको प्रकोप मुख्य रूपमा कङ्गोमै सीमित रहेको छ। युगान्डामा समेत केही संक्रमण देखिए पनि अधिकांश प्रभावित क्षेत्र युगान्डा सीमासँग जोडिएका कङ्गोका पूर्वी पाँच प्रान्तमा केन्द्रित छन्।

यसको विपरीत, सन् २०१४–२०१६ को महामारी पश्चिम अफ्रिकाका लाइबेरिया, सियरा लियोन र गिनीलगायत मुलुकमा व्यापक रूपमा फैलिएको थियो। त्यस समयमा अमेरिका र युरोपमा समेत सीमित सङ्ख्यामा संक्रमित भेटिएका थिए।

ढिलो उपचारका कारण मृत्यु बढेको आशंका

हालको प्रकोपमा मृत्यु दर करिब ४० प्रतिशत रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। धेरै बिरामीले लक्षण देखिएपछि ढिलो गरी स्वास्थ्य संस्थामा पुग्ने भएकाले मृत्यु बढेको अनुमान गरिएको छ।

अघिल्लो ठूलो महामारीमा भने मृत्यु दर करिब ६६ प्रतिशत पुगेको थियो।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार इबोला भाइरस समूहका केही प्रकार अत्यन्त घातक मानिन्छन्। उपचार नपाएमा केही अवस्थामा संक्रमितमध्ये ठूलो संख्यामा ज्यान जाने जोखिम रहने उल्लेख गरिएको छ।

स्रोत पहिचान नहुँदा नियन्त्रण चुनौतीपूर्ण

स्वास्थ्य अधिकारीहरूले हालको प्रकोप अझै नियन्त्रणको निर्णायक चरणमा नपुगेको चेतावनी दिएका छन्। पहिलो संक्रमित व्यक्ति कहाँबाट भाइरसको सम्पर्कमा आए भन्ने स्रोत अझै पहिचान हुन सकेको छैन।

निगरानीमा रहेका सम्पर्क व्यक्तिहरूभन्दा बाहिरबाट नयाँ संक्रमित भेटिनु, साथै भाइरसको प्रकार पहिचानमा भएको ढिलाइले संक्रमण नियन्त्रण थप कठिन बनेको अधिकारीहरूको भनाइ छ।

सन् २०१४–२०१६ को इबोला महामारी करिब तीन वर्षसम्म चलेको थियो। पहिलो संक्रमण सन् २०१३ को अन्त्यतिर देखिए पनि मार्च २०१४ मा मात्र ठूलो प्रकोपका रूपमा पुष्टि भएको थियो। उक्त महामारीलाई सन् २०१६ मा अन्त्य भएको घोषणा गरिएको थियो।