साउन ८, २०८३ शुक्रबार

काठमाडौं । सेवाग्राहीसँग घुस रकम लिएको आरोपमा काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्वब भट्टराई पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत भट्टराईलाई २१ हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न आवश्यक पर्ने वडा कार्यालयको सिफारिस उपलब्ध गराउने क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिई घुस मागेको सूचना प्राप्त भएको थियो।

उक्त सूचनाका आधारमा अख्तियारको टोली परिचालन गरिएको थियो। टोलीले सेवाग्राहीबाट २१ हजार रुपैयाँ लिइसकेको अवस्थामा लेखा अधिकृत भट्टराईलाई पक्राउ गरेको अख्तियारले जनाएको छ।

पक्राउ परेका भट्टराईमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।

अख्तियारले सरकारी सेवा प्रवाहका क्रममा सेवाग्राहीसँग अनियमित रकम माग गर्ने वा भ्रष्टाचारजन्य गतिविधिमा संलग्न हुने कर्मचारीमाथि निगरानी तथा कारबाही प्रक्रिया निरन्तर अघि बढाइरहेको जनाएको छ।