म्याग्दी, १० असोजः कुनै समय कोदो र मकै फल्ने यहाँको बेनी नगरपालिका–३ भकिम्लीको गुफास्थित पाखोबारी तीन वर्षअघिसम्म बाँझिएर झाडीले ढाकिएको थियो । घरदेखि टाढा, मजदुरको अभाव र खेती गर्न बढ्दै गएको कठिनाइका कारण खेतबारीमा अन्न लगाउन छाडेपछि पाखोमा पाती, वनमारा र बिलाउनी उम्रिएका थिए ।
अहिले त्यही झाडीले ढाकेको पाखोमा हरियाली छाएको छ । बारीका कान्लामा ओखरका बिरुवा हुर्किएका छन् भने ओखरको बगैँचाभित्र बन्दा लहलहाएका छन् । बेमौसमी आलुका लागि छुट्टै बारी तयार छ । करिब एक दशकसम्म बाँझिएको पाखोबारीलाई पुनःखेतीयोग्य बनाएर हराभरा बनाउने काममा जुट्नुभएको छ, भकिम्लीका राम र पार्वती रुचाल दम्पती ।
रचाल दम्पतीले स्थापना गरेको बेविका कृषि तथा पशुपक्षी फार्ममार्फत पुख्र्यौली १४ रोपनी जग्गाका अतिरिक्त थप छ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक खेती भएको छ । खेतीयोग्य जमिन विस्तारसँगै उहाँहरूले फरक–फरक ठाउँमा फलफूल तथा तरकारी खेतीलाई अघि बढाउनुभएको छ ।
“घरदेखि टाढा भएकाले मजदुर अभाव हुँदा मल बोक्न, बाली लगाउन र स्याहार्न समस्या हुन्थ्यो,” पार्वतीले भन्नुभयो, “त्यसैले गुफाको पाखोबारीमा करिब एक दशकसम्म कोदो र मकै खेती गर्न छाडेका थियौँ । खेती हुन छाडेपछि पाखो पाती, वनमारा र बिलाउनीको झाडीले भरिएको थियो । झाडी फाँडेर ओखर खेती गरेपछि अहिले पुरानै अवस्थामा फर्किएको छ ।”
समुद्री सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको गुफामा रुचाल दम्पतीले ३५० वटा दाँते जातका ओखरका बिरुवा रोप्नुभएको छ । भकिम्लीमा व्यावसायिक रूपमा ओखर खेती सुरु गर्ने आफूहरू पहिलो कृषक भएको रुचालको भनाइ छ । यसअघि उक्त क्षेत्रमा घरायसी प्रयोजनका लागि मात्र ओखर खेती हुने गरेको थियो ।
ओखरका बिरुवासँगै बारीको खाली ठाउँको उपयोग गर्दै उहाँहरूले बर्खायाममा बन्दा खेती गर्नुभएको छ । गत वर्ष पोखरा लगेर रु एक लाख ५० हजार बराबरको बन्दा बिक्री भएको थियो । यस वर्ष पनि सोही क्षेत्रफलमा बन्दा लगाइएको छ ।
पछिल्लो समय भइरहेको झरीका कारण उत्पादन भएको बन्दा बजारसम्म पु¥याउन समस्या भएको रामले बताउनुभयो । “उत्पादन राम्रो छ, बजार पनि छ तर अहिले झरीका कारण बारीबाट बजारसम्म तरकारी पु¥याउन समस्या भएको छ,” उहाँले भन्नुभयो ।
रुचाल दम्पतीले छ रोपनी क्षेत्रफलमा बेमौसमी आलु खेती गर्नुभएको छ । हिउँदे आलुु कात्तिक–मङ्सिर र फागुनमा बर्खे आलुु रोपिन्छ । कात्तिकमा भित्र्याउने गरि भदौको पहिलो साता आलुु रोप्नुुभएको थियो ।
आलु, बन्दा र ओखरको बगैँचामा ‘मल्चिङ’ प्रविधि अपनाइएको छ । झार उम्रिन नदिने, बारी सफा राख्ने तथा बिरुवालाई आवश्यक पोषण र चिस्यान कायम राख्न प्लास्टिकले छोपेर मल्चिङ गरिएको हो । मल्चिङ गरेपछि झार नियन्त्रण हुनुका साथै खेतीको स्याहार गर्न सहज भएको रुचालको अनुभव छ ।
गुफाको पाखोबारीमा ओखर र तरकारी खेतीसँगै रुचाल दम्पतीले भकिम्लीमा सुन्तला र थाममा खुर्सानी खेती पनि गर्नुभएको छ । दुई रोपनी क्षेत्रफलमा लगाइएको खुर्सानी बिक्रीका लागि तयार हुँदैछ । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको सहयोगमा ३०० बोट सुन्तला लगाइएको छ ।
यसअघि धान, गहुँ, मकै र कोदो उत्पादन हुने खेतबारीमा सुन्तलाको बगैँचा विस्तार गरिएको हो । फरक–फरक स्थानमा रहेका फार्ममा दम्पती आफैँ खटिनुहुन्छ । खेतीको काम बढेका बेला स्थानीय मजदुरलाई रोजगारी दिने गरिएको छ ।
बयालिस वर्षीय रुचाल दम्पतीका लागि कृषि उद्यम केवल आम्दानीको माध्यम मात्र होइन, गाउँमै बसेर आत्मनिर्भर बन्ने प्रयास पनि हो । रोजगारी र अवसरको खोजीमा युवा तथा श्रमशक्ति सहर र विदेशतर्फ केन्द्रित भइरहेका बेला उहाँहरूले भने पुख्र्यौली जग्गालाई उपयोग गर्दै गाउँमै भविष्य खोज्नुभएको छ । कृषि फार्मबाट तीन छोराछोरीको पठनपाठन र घरव्यवहार चलाउँदै आउनुभएका रुचाल दम्पती ओखर र सुन्तलाले उत्पादन दिन थालेपछि आम्दानी थप बढ्ने आशामा हुनुहुन्छ । “अहिले खेतीमा मेहनत र लगानी धेरै छ । ओखर र सुन्तलाले उत्पादन दिन थालेपछि आम्दानी राम्रो हुने आशा छ,” रामले भन्नुभयो ।
रुचाल दम्पतीको प्रयासले बाँझिएको जमिनको उपयोग मात्र भएको छैन, स्थानीयस्तरमै कृषि उद्यमको सम्भावना पनि देखाएको बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताउनुभयो ।
“मेहनत र लगन गर्न सके गाउँमै राम्रो सम्भावना छ भन्ने उदाहरण रुचाल दम्पतीले देखाउनुभएको छ,” उहाँले भन्नुभयो ।
कृषकलाई उत्पादनतर्फ आकर्षित गर्न वडा, नगरपालिका, कृषि विकास कार्यालय, पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष पुनले बताउनुभयो ।
उहाँका अनुसार भकिम्लीका विभिन्न बस्तीलाई फरक–फरक कृषि उत्पादनको केन्द्रका रूपमा विकास गर्ने गरी कार्यक्रम अघि बढाइएको छ । राखु, मरेक, पानीस्वाँरा र चिनाखेतमा सुन्तला, भकिम्ली र चिखाखेतमा अकबरे खुर्सानी, भकिम्ली, डोले र मुसुङमा किबी, भुकभुके क्षेत्रमा आलु, डाँडाखानी र हल्लेगौँडामा बाख्रा तथा दुधेखोलामा कुखुरापालनसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ ।
बाँझिएको पाखोमा उम्रिएका झाडी फाँडेर सुरु भएको रुचाल दम्पतीको कृषि यात्रा अहिले ओखर, सुन्तला, तरकारी र अन्य कृषि उत्पादनसम्म फैलिएको छ । वर्षौंसम्म उत्पादनविहीन बनेको पाखोमा पुनः हरियाली फर्काएर उहाँहरूले श्रम र माटोबीचको सम्बन्धलाई पुनर्जीवित मात्र गर्नुभएको छैन, गाउँमै केही गर्न सकिन्छ भन्ने सम्भावनालाई पनि व्यवहारमै देखाउनुभएको छ ।