लन्डन, २५ कात्तिक (रासस÷एएफपी)ःजङ्गली चराहरूको बसाइँसराइसँगै एभियन इन्फ्लुएन्जा (बर्ड फ्लू) फैलिने जोखिम बढेपछि बेलायत सरकारले इङ्गल्यान्डका ठूला कुखुरापालन फार्म तथा पक्षीपालकलाई आफ्ना चराहरू घरभित्रै राख्न बुधबार आदेश दिएको छ ।
शुक्रबारदेखि लागू हुने उक्त अनिवार्य आदेश ५० वा सोभन्दा बढी कुखुरा तथा अन्य पक्षी पाल्नेहरूका लागि लागू हुनेछ । अण्डा वा कुखुराजन्य उत्पादन बिक्री गर्ने तथा वितरण गर्ने पक्षीपालकले पनि यो आदेश पालना गर्नुपर्नेछ ।
सेप्टेम्बर ३० देखि नोभेम्बर ६ सम्मको अवधिमा बेलायतमा घरपालुवा कुखुरामा एभियन फ्लूका चार घटना पुष्टि भएपछि सरकारले यस्तो कदम चालेको हो ।
यसै अवधिमा इङ्गल्यान्डमा विभिन्न प्रजातिका जङ्गली चरामा पनि यस रोगका १६ घटना पुष्टि भएका छन् । त्यसपछि अधिकारीहरूले बेलायतभर जङ्गली चरामा एभियन फ्लू फैलिने जोखिमको स्तर मध्यमबाट बढाएर उच्च बनाएका छन् ।
सरकारले पक्षीपालकका लागि तत्काल लागू हुने अनिवार्य जैविक सुरक्षा उपायसमेत घोषणा गरेको छ । यसअन्तर्गत जुत्ता कीटाणुरहित बनाउने तथा पक्षी राख्ने स्थान र कङ्क्रिटका पैदलमार्ग नियमित रूपमा सफा गरी निःसङ्क्रमण गर्नुपर्नेछ ।
बेलायतकी प्रमुख पशु चिकित्सा अधिकारी क्रिस्टिन मिडलमिसले विज्ञप्तिमार्फत पक्षीपालकलाई चराहरू घरभित्रै राख्ने व्यवस्थाको पालना गर्न र जैविक सुरक्षाका उपाय कडाइका साथ अपनाउन आग्रह गर्नुभएको छ ।
उहाँले रोगका लक्षणबारे सतर्क रहन र सङ्क्रमणको आशङ्का भए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि आग्रह गर्नुभएको छ ।
यस विषयमा जिम्मेवार सरकारी मन्त्रालयले एभियन फ्लूको प्रकोपले उपभोक्ताका लागि क्रिसमसमा टर्की वा अन्य मौसमी कुखुराजन्य उत्पादनको उपलब्धतामा समग्र रूपमा असर पार्ने अनुमान नरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार एभियन फ्लूबाट मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम पनि निकै कम छ ।