कात्तिक २५, २०८३ बुधबार

संयुक्त राष्ट्रसंघ, २५ कात्तिक (रासस/सिन्ह्वा): गाजामा सप्ताहन्तमा परेको भारी वर्षापछि बाढीबाट प्रभावित हुन सक्ने दुई लाखभन्दा बढी सर्वसाधारणलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघ र साझेदार मानवीय सहायता संस्थाहरू सक्रिय भएका छन्। बाढीका कारण विस्थापित परिवारका अस्थायी आश्रयस्थल, शौचालय, स्वास्थ्य संस्था तथा सडकमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा पानी निकास, सरसफाइ र राहत वितरणको काम तीव्र पारिएको छ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार सोमबारसम्म ४० हजारभन्दा बढी परिवारका आश्रयस्थल, ९०० भन्दा बढी शौचालय र नौवटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ। भारी वर्षाले विशेषगरी विस्थापित परिवारको अवस्था थप कठिन बनाएको छ।

बाढी प्रभावित तथा युद्धका कारण क्षतिग्रस्त भवनमा बसोबास गरिरहेका मानिसलाई सुरक्षित स्थानमा सार्न पर्याप्त आश्रयस्थल उपलब्ध नभएको ओसीएचएले जनाएको छ। इजरायली अधिकारीहरूले तथाकथित ‘येलो लाइन’ पछाडिका क्षेत्रमा प्यालेस्टिनीको पहुँचमा प्रतिबन्ध लगाइरहेकाले गाजाको अधिकांश भूभागमा सुरक्षित स्थानको खोजी र विस्थापन व्यवस्थापन कठिन बनेको कार्यालयको भनाइ छ।

ओसीएचएका अनुसार मानवीय सहायता साझेदार संस्थाहरूको सहयोग क्षमता सीमित हुँदा प्रभावित परिवारले समयमै आवश्यक राहत पाउन सकेका छैनन्। सोमबारसम्म करिब ७५० परिवार अर्थात् ४ हजार ५०० जनासम्म सहायता पुर्‍याइएको छ। उनीहरूलाई पाल, त्रिपाल, कम्बल, प्लास्टिकका पाना, ओछ्यान, खाद्यान्न, पानी राख्ने भाँडा तथा सरसफाइ सामग्री वितरण गरिएको छ।

त्यसैगरी, गाजा र उत्तरी गाजा क्षेत्रमा रहेका २४५ आश्रयस्थल तथा २३ सडकमा तत्काल भारी उपकरण प्रयोग गरी सुधार गर्नुपर्ने आवश्यकता पहिचान गरिएको छ। मंगलबार बिहान गाजा सहरमा जोखिमपूर्ण अवस्थामा रहेको एउटा भवन भत्काइएको थियो। उक्त भवनमा बसोबास गर्दै आएका १० परिवारलाई स्वेच्छाले अन्यत्र सारिएपछि उनीहरूलाई वैकल्पिक स्थानमा आधारभूत आश्रय, पानी तथा सरसफाइ सुविधा उपलब्ध गराइएको थियो।

पानी तथा सरसफाइसम्बन्धी काम गर्ने संस्थाहरूले गाजामा उपलब्ध अत्यन्त सीमित भारी उपकरण परिचालन गरी २५ वटा विस्थापनस्थलमा पानी निकास, नाली सफाइ र जमिन सम्याउने काम गरेका छन्। यसबाट करिब ३ हजार ७०० परिवार लाभान्वित भएको अनुमान छ।

यसका अतिरिक्त, अन्य साझेदार संस्थाहरूले ६० स्थानमा अवरुद्ध ढलका पाइप र वर्षाको पानी निकास हुने संरचना सफा गरेका छन्। उक्त कामबाट करिब ३० हजार परिवारलाई लाभ पुगेको ओसीएचएले जनाएको छ। वर्षाका कारण विस्थापनस्थलमा जमेको पानी हटाउनुका साथै थप बाढीको जोखिम कम गर्न यस्तो कामलाई प्राथमिकता दिइएको छ।

यसैबीच, बाल संरक्षण सेवाअन्तर्गत ७ हजार ८०० भन्दा बढी बालबालिकालाई जाडो मौसमका लागि आवश्यक कपडा वितरण गरिएको छ। त्यस्तै, ३०० बालबालिकालाई आर्थिक सहायता उपलब्ध गराइएको छ। करिब १ हजार ७०० बालबालिका तथा अभिभावकलाई सुरक्षा सचेतना गतिविधिमा सहभागी गराइएको छ।

ओसीएचएका अनुसार गाजामा राहत तथा उद्धार कार्य प्रभावकारी बनाउन थप भारी उपकरण, इन्जिन आयल र आवश्यक पार्टपुर्जा तत्काल भित्र्याउनुपर्ने आवश्यकता छ। सीमित उपकरणका कारण पानी निकास, सडक सफाइ तथा अन्य अत्यावश्यक काम प्रभावित भइरहेका छन्। सवारीसाधन, उपकरण र वैकल्पिक विद्युत् उत्पादन गर्ने जेनेरेटर सञ्चालनमा राख्न पनि आवश्यक सामग्रीको अभाव रहेको छ।

कार्यालयले जाडो मौसम सुरु हुनुअघि आश्रय सामग्री तथा अन्य मानवीय सहायता गाजामा प्रवेश गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। साथै, आवश्यक सामग्री भित्र्याउन इजरायली अधिकारीहरूको अनुमति र तत्काल मानवीय सहायता कोष उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ।

ओसीएचएले जाडो मौसममा थप वर्षा र प्रतिकूल परिस्थितिको सामना गर्नुपर्ने भएकाले प्रभावित परिवारलाई सुरक्षित आश्रय तथा आधारभूत सेवा उपलब्ध गराउनु जीवनरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको जनाएको छ।
---