मिलान, २५ कात्तिक (रासस÷एपी)ः इमेलमार्फत बम विस्फोटको धम्की प्राप्त भएपछि इटालीभरका करिब ३०० विद्यालय खाली गराइएको छ । बुधबार भएको यो घटना पछिल्ला हप्ताहरूमा विभिन्न विमान सेवा कम्पनी र सञ्चारमाध्यमलाई लक्षित गरी दिइएका शङ्कास्पद बम धम्कीको शृङ्खलाको पछिल्लो घटना हो । यस्ता धम्कीले युरोपका विभिन्न संस्थाको कामकाजमा अवरोध पु¥याउँदै आएका छन् ।
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले विज्ञप्ति जारी गर्दै विद्यालयहरूमा कुनै ठोस खतरा रहेको सङ्केत नदेखिएको बताउनुभएको छ । यस्ता धम्की आतङ्क र त्रास सिर्जना गर्ने उद्देश्यले दिइएको हुन सक्ने उहाँको भनाइ छ ।
उहाँले घटनाको अनुसन्धान भइरहेको जानकारी दिँदै बुधबार नै मन्त्रीहरूको बैठक बोलाएको बताउनुभयो ।
‘लाप्रेस’ समाचार एजेन्सीसहित इटालीका सञ्चारमाध्यमले प्राप्त गरेको अज्ञात इमेलमा प्रधानमन्त्री मेलोनीलाई समेत लक्षित गरी धम्की दिइएको छ । यद्यपि, मेलोनीले आफ्नो विज्ञप्तिमा आफूलाई दिइएको व्यक्तिगत धम्कीबारे उल्लेख गर्नुभएको छैन् । उहाँको कार्यालयले पनि यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
परराष्ट्रमन्त्री एन्टोनियो ताजानीले गत शनिबार आफ्नो व्यक्तिगत विवरण डार्क वेबमा सार्वजनिक भएको बताउनुभएको थियो । प्रधानमन्त्री मेलोनीले यस घटनामा रुस समर्थक ह्याकरहरू संलग्न रहेको आरोप लगाउनुभएको छ ।
‘लाप्रेस’ समाचार एजेन्सीका अनुसार, शिक्षा मन्त्री ज्युसेप्पे भालदिताराले ३०० विद्यालयमा इमेलमार्फत बमको धम्की प्राप्त भएको बताउनुभएको छ । यसबारे मन्त्रालयसँग प्रतिक्रिया माग्दा तत्काल कुनै जवाफ प्राप्त भएको छैन ।
राजधानी रोमस्थित मामियानी माध्यमिक विद्यालयमा विद्यार्थीहरूले सुरुमा विद्यालयबाट बाहिरिने सूचनालाई नियमित बिदाको सङ्केत ठानेका थिए । बाहिर निस्किएपछि मात्र उनीहरूले बमको धम्कीका कारण विद्यालय खाली गराइएको थाहा पाए ।
अठार वर्षीया विद्यार्थी अनिता बार्तोचीले भनिन्, “हामीलाई रुसी ह्याकरहरूबाट इमेल आएको र त्यसमा सबैलाई मार्ने धम्की दिइएकाले बमको चेतावनी जारी गरिएको बताइयो । त्यो निकै हिंसात्मक सन्देश थियो ।”