असोज ९, २०८३ शुक्रबार

इस्लामाबाद, ९ असोज : पाकिस्तानी सुरक्षा बलले पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रको गुलिस्तान सेक्टरमा भएको सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानी सुरक्षा स्रोतहरुले शुक्रबार बताएका छन् । झडपका क्रममा अफगान तालिवानका केही सदस्य मारिएको उनीहरूले जनाएका छन् ।

    सुरक्षा स्रोतका अनुसार अफगान बलले सीमा पार गरी पाकिस्तानी भू–भागमा प्रवेश गर्ने प्रयास गरेका थिए । त्यस क्रममा पाकिस्तानी सुरक्षा बलले प्रतिकार गरेपछि भएको झडपमा अफगान तालिवानका केही सदस्य मारिएका हुन् । 

    सीमा क्षेत्रमा छिटपुट गोली हानाहान जारी रहेको र पाकिस्तानी सुरक्षा बललाई उच्च सतर्क अवस्थामा राखिएको स्रोतहरूले बताएका छन् ।

    सीमापारिबाट पाकिस्तानी भू–भागमा प्रवेश गर्ने कुनै पनि प्रयासको प्रतिकार गर्न सेना पूर्ण रूपमा तयार रहेको पनि उनीहरूले बताएका छन् ।