न्युयोर्क, ९ असोज: क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभाको नियन्त्रण पुनः प्राप्त गर्ने र त्यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक एजेन्डा अन्त्य हुने दाबी गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको जलवायु सम्मेलनपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उहाँले डेमोक्रेटहरूले प्रतिनिधिसभा फिर्ता लिने र त्यसपछि ‘नयाँ दिन’ सुरु हुने बताउनुभयो । उहाँले ट्रम्पको राष्ट्रपति पद ‘हामीले चिनेको रूपमा’ नोभेम्बरमा समाप्त हुने दाबी गर्नुभयो । यद्यपि, काङ्ग्रेसमा डेमोक्रेटहरूको नियन्त्रण भए ट्रम्पको राष्ट्रपति पद कसरी समाप्त हुन्छ भन्ने उहाँले स्पष्ट पार्नुभएन ।
न्युजमले जलवायु परिवर्तनलाई वातावरणीय विषयमा मात्र सीमित नगरी खाद्यान्नको मूल्य, घरको बिमा, आवास र राष्ट्रिय सुरक्षासँग जोडेर हेर्नुपर्ने बताउनुभयो । क्यालिफोर्नियाको अर्थतन्त्र सन् २०१९ यता ४० प्रतिशतले बढेको र यस वर्ष ९० प्रतिशत दिन कुनै न कुनै समयमा विद्युत् माग शतप्रतिशत स्वच्छ ऊर्जाबाट पूरा भएको उहाँले बताउनुभयो ।
ट्रम्प प्रशासनले क्यालिफोर्नियाका वातावरणसम्बन्धी नियम उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाउँदै न्युजमले ट्रम्पको नीतिले अमेरिकालाई पछाडि धकेलिरहेको टिप्पणी गर्नुभयो । सन् २०२८ को राष्ट्रपतीय निर्वाचनबारे उहाँले कुनै पनि डेमोक्रेटिक उम्मेदवारले जित्न सक्ने दाबी गर्दै विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्सले ट्रम्पका विवादास्पद नीतिलाई समर्थन गरेको आरोप लगाउनुभयो ।
न्युजमले सम्भावित राष्ट्रपतीय उम्मेदवार अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजबारे पनि टिप्पणी गर्दै महिलाले राष्ट्रपति निर्वाचन जित्न नसक्ने धारणा गलत भएको बताउनुभयो । उहाँले ओकासियो–कोर्टेजलाई ‘पुस्ताको प्रतिभा’ को संज्ञा दिनुभयो । साथै, सन् २०२८ को राष्ट्रपतीय दौडमा आफू अघि बढेमा आफ्नो अनुभव, दृष्टिकोण र क्षमतालाई फरक रूपमा प्रस्तुत गर्न सक्ने बताउनुभयो ।