असोज ९, २०८३ शुक्रबार

सिङ्गापुर, ९ असोज : सिङ्गापुरको वित्तीय क्षेत्रले सन् २०२८ सम्म ८० हजारभन्दा बढी कर्मचारीलाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सीपको तालिम दिने भएको छ । उपप्रधानमन्त्री गान किम योङले बिहीबार उक्त जानकारी दिनुभएको हो ।
    
    ‘आईबीएफ डिस्टिङ्सन इभनिङ’ कार्यक्रममा उहाँले बैङ्किङ, बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रका २३ वित्तीय संस्था यस प्रतिबद्धतामा सहभागी भएको बताउनुभयो । ती संस्थाले हालै सुरु गरिएको ‘इन्स्टिच्युट अफ बैङ्किङ एन्ड फाइनान्स (आईबीएफ) एआई वर्कफोर्स को–ल्याब’ मार्फत आफ्ना कर्मचारीलाई तालिम दिनेछन् ।
    
    व्यापार तथा उद्योगमन्त्रीका साथै सिङ्गापुरको केन्द्रीय बैङ्क ‘मोनेटरी अथोरिटी अफ सिङ्गापुर’ का अध्यक्षसमेत रहनुभएका गानले आईबीएफबाट मान्यताप्राप्त कार्यक्रममार्फत सिङ्गापुरमा रहेका आफ्ना सबै कर्मचारीलाई तालिम दिने प्रतिबद्धता वित्तीय संस्थाहरूले जनाएको बताउनुभयो । उहाँका अनुसार आधाभन्दा बढी कर्मचारीले यससम्बन्धी तालिम लिइसकेका छन् ।

    ‘एआई वर्कफोर्स को–ल्याब’ ले रोजगारदाता र साझेदार संस्थालाई एकै ठाउँमा ल्याएर कामको प्रकृतिमा भइरहेको परिवर्तनको मूल्याङ्कन गर्नेछ । साथै, तालिम तथा कार्यप्रणालीमा आवश्यक परिवर्तनसम्बन्धी व्यावहारिक उपायको परीक्षण गरी त्यसबाट प्राप्त अनुभव वित्तीय क्षेत्रसँग साझा गर्नेछ ।
    
    गानका अनुसार एआईले ग्राहक सेवा, वित्तीय परामर्श, ऋण स्वीकृति, ठगी पहिचान, बजार विश्लेषण र सफ्टवेयर विकासलगायत क्षेत्रमा वित्तीय संस्थाको कार्यशैलीमा परिवर्तन ल्याइसकेको छ ।

    “हामी एआईको प्रयोगबाट सिङ्गापुरका नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो । यसका लागि वित्तीय संस्थाको प्रतिबद्धता र सक्रियतासँगै सरकार तथा श्रमिक सङ्गठनको साझेदारी र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।