असोज ९, २०८३ शुक्रबार

वासिङ्टन, ९ असोज : चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्न र ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न अमेरिकालाई आग्रह गर्नुभएको छ । उहाँले चीन–अमेरिकाबीच कृत्रिम बौद्धिकता (एआई) लगायतका क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

    ह्वाइट हाउसमा भएको वार्तामा सीले दुई देशले सहयोगलाई प्रमुख आधार बनाउँदै प्रतिस्पर्धालाई उचित सीमाभित्र राख्न तथा मतभेद व्यवस्थापन गर्दै स्थिर सम्बन्ध अघि बढाउनुपर्ने बताउनुभयो । यसै वर्ष मेमा भएको समझदारीलाई कार्यान्वयन गर्दै आर्थिक तथा व्यापारिक सम्बन्ध स्थिर राख्न सहयोगका क्षेत्र विस्तार र विवादका विषय घटाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

    एआईका क्षेत्रमा दुवै देशसँग बलियो क्षमता रहेको बताउँदै सीले यसको जोखिम र फाइदाबारे निरन्तर संवाद तथा दुरुपयोग रोक्न संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो । एआई मानव नियन्त्रणमा रहनुपर्ने र मानवकेन्द्रित ढङ्गले विकास गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    ताइवानबारे सीले राष्ट्रिय एकीकरण र क्षेत्रीय अखण्डताको रक्षा गर्ने चीनको अडान स्पष्ट रहेको बताउँदै अमेरिकाले ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्ने नीतिमा कायम रहनुपर्ने बताउनुभयो । यसबाट चीन–अमेरिका रणनीतिक सहयोग तथा द्विपक्षीय सम्बन्ध विकासका लागि आधार तयार हुने उहाँको भनाइ थियो ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले सीको भ्रमणलाई उत्कृष्ट बताउँदै आर्थिक तथा व्यापारिक संवाद जारी राख्नुपर्ने बताउनुभयो । दुवै देशका टोलीबीचको पछिल्लो छलफलबाट नयाँ उपलब्धि हासिल भएको उल्लेख गर्दै उहाँले व्यापार सम्झौता सुधारका लागि वार्ता जारी राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । एआईमा पनि संवाद र सहयोग विस्तार गर्न दुवै नेता सहमत हुनुभएको छ ।

    वार्तामा मध्यपूर्व, युक्रेन सङ्कट र कोरियाली प्रायद्वीपको अवस्थालगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा विचार आदानप्रदान भएको थियो । साथै, सन् २०२६ मा हुने एपेक आर्थिक नेताहरूको बैठक र जी–२० शिखर सम्मेलन आयोजना गर्न एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ ।

    राष्ट्रपति सीको तीनदिने अमेरिका भ्रमणका क्रममा भएको यो भेट छ महिनाभन्दा कम अवधिमा दुई नेताबीच भएको दोस्रो भेट हो ।