असोज १, २०८३ बिहिबार

दमौली (तनहुँ), १ असोजः तनहुँको बन्दीपुर गाउँपालिका-१ ले वडा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन डुम्रे बजारबाट बेलभञ्ज्याङसम्म सिसी क्यामेरा जडान गरेको छ । वडाले करिब रु ११ लाखको लागतमा मुख्य बजार तथा सडक क्षेत्रमा सिसी क्यामेरा जडान गरेको हो ।

    चोरीजन्य घटना न्यूनीकरण, सवारी दुर्घटना नियन्त्रण तथा सवारी चालकको लापरबाहीलाई निगरानी गर्ने उद्देश्यले वडा क्षेत्रका महत्वपूर्ण स्थानमा सिसी क्यामेरा जडान गरिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बजार तथा सडक क्षेत्रमा सिसी क्यामेरा जडान भएपछि यहाँ हुने गतिविधिको निगरानी गर्न सहज हुनेछ । 

    विशेषगरी चोरी, दुर्घटना तथा सवारी साधनको लापरबाहीसँग सम्बन्धित घटनामा सिसी क्यामेराबाट प्राप्त दृश्यले वास्तविकता पहिचान तथा अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको श्रेष्ठको भनाइ छ । “चोरीजन्य घटना, सवारी दुर्घटना तथा सवारीसाधन र चालकको लापरवाही नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले पृथ्वीराजमार्गको मुख्य स्थानमा सिसी क्यामेराबाट निगरानी सुरु गरेका छौँ,” उहाँले भन्नुभयो ।

    सिसी क्यामेराले बजार तथा सडक क्षेत्रमा हुने गतिविधिको नियमित निगरानी बढाउनाका साथै कुनै घटना भएमा त्यसको अनुसन्धानका लागि आवश्यक प्रमाण जुटाउन पनि सहयोग पुग्ने उहाँले बताउनुभयो । प्रहरीलाई अनुसन्धानका क्रममा क्यामेराको दृश्य उपलब्ध गराउन सकिने भएकाले आपराधिक तथा दुर्घटनाजन्य घटनाको छानबिनमा थप सहजता हुने अपेक्षा गरिएको श्रेष्ठले उल्लेख गर्नुभयो ।

    वडाले चालु आर्थिक वर्षमा पनि सिसी क्यामेरा विस्तारका लागि रु चार लाख बजेट विनियोजन गरेको छ । यसअघि जडान गरिएका क्यामेराबाट प्राप्त अनुभवका आधारमा आवश्यक देखिएका क्षेत्रमा थप क्यामेरा जडान गर्ने योजना वडाको छ ।

    वडाध्यक्ष श्रेष्ठले आगामी दिनमा बस्ती बाक्लो भएका तथा सुरक्षा निगरानी आवश्यक देखिएका अन्य स्थानलाई प्राथमिकतामा राखेर सिसी क्यामेरा थप गर्दै लैजाने बताउनुभयो । डुम्रे बजारबाट बेलभञ्ज्याङसम्मको क्षेत्र बन्दीपुर गाउँपालिकाको महत्वपूर्ण बजार तथा सडक क्षेत्र भएकाले यहाँ क्यामेराको पहुँच विस्तार हुँदा सार्वजनिक सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।