काठमाडौँ, १ असोजः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक किलो ६४३ ग्राम सुनसहित ४५ जनालाई पक्राउ गरेको छ ।
विदेशबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुलाई प्रयोग गरी अवैध रूपमा सुन ओसारपसार गरिएको भन्ने सूचनाका आधारमा सुरक्षा जाँच गर्दा उनीहरू पक्राउ परेका हुन् ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार गत साउन १ गतेदेखि भदौ ३१ गतेसम्म विभिन्न समयमा गरिएको सुरक्षा जाँचका क्रममा सुनसहित ४५ जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट रु एक करोड २५ लाख १८६ बराबरको सुन बरामद भएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा बाह्य मुलुकबाट नेपाल फर्किएका केही नेपाली यात्रुलाई ज्यालाको प्रलोभनमा पारी तस्करले सुन भित्र्याउने गरेको पाइएको छ । यात्रुलाई प्रयोग गरी सुन ओसारपसार गराउने गिरोहको गतिविधिमाथि विमानस्थलमा निगरानी बढाइएको प्रहरीको भनाइ छ ।
बरामद सुन तथा पक्राउ परेकाका सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । घटनामा संलग्न देखिएकामाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
चोरी भएको ट्याक्सी फेला पारी ट्राफिक प्रहरीद्वारा हस्तान्तरण
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङस्थलबाट चोरी भएको ट्याक्सी खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । पार्किङ गरिएको स्थानबाट चोरी भएको बा२ज २७८४ नम्बरको ट्याक्सी खोजीका क्रममा काठमाडौँको तारकेश्वर नगरपालिका–४ मा लुकाइराखेको अवस्थामा फेलापरेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार चोरी भएको ट्याक्सी फेलापरेपछि आज सम्बन्धित धनीलाई बुझाइएको हो । चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकामा मोटरसाइकललगायत सवारीसाधन चोरी रोकथाम तथा नियन्त्रणका लागि ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताउनुभयो । उहाँका अनुसार उपत्यकाबाट हराएका तथा चोरी भएका सवारीसाधनको खोजी तथा नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत हराएका तथा चोरी भएका सवारीसाधन फेलापर्ने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
चोरी भएको आफ्नो ट्याक्सी आज पाएपछि सवारीधनी निकै खुसी हुनुका साथै ट्राफिक प्रहरीलाई धन्यवादसमेत दिएका थिए । ट्राफिक प्रहरीका अनुसार गत साउन र भदौमा मात्रै १४६ वटा चोरी भएका र हराएको स्कुटी तथा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ ।