ब्रसेल्स, १ असोज : क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले बाह्य दबाबको सामना गर्दै युरोपेली सङ्घ (इयू) सँग ‘नयाँ गठबन्धन’ निर्माणको प्रस्ताव अघि सार्नुभएको छ । उहाँले बिहीबार युरोपेली संसद्मा सम्बोधन गर्दै क्यानडा र युरोपबीच रक्षा, ऊर्जा तथा प्रविधिसहित विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभएको हो ।
इयूकी प्रमुख उर्सुला भोन डेर लेयनले बुधबार आफ्नो वार्षिक ‘स्टेट अफ द युरोपियन युनियन’ सम्बोधनमा क्यानडा २७ सदस्यीय इयूको पहिलो ‘एसोसियट सदस्य’ बन्न सक्ने प्रस्ताव गरेपछि कार्नीको सम्बोधन आएको हो ।
“युरोप र क्यानडासँगै बलिया छन्,” कार्नीले भन्नुभयो । उहाँले इयूको प्रस्तावलाई स्वागत गर्दै कृत्रिम बुद्धिमत्ता, रक्षा, ऊर्जा तथा अन्य रणनीतिक क्षेत्रमा सहकार्य गहिरो बनाउन क्यानडा इच्छुक रहेको बताउनुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले इयूसँग सम्बन्ध थप बलियो बनाएमा युरोपमाथि व्यापारिक प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको थियो । ट्रम्पले भोन डेर लेयनको प्रस्तावलाई हास्यास्पद भन्दै योजना अघि बढे धेरै गम्भीर शुल्क लगाउन वा युरोपसँग व्यापार बन्द गर्न सक्ने बताउनुभएको थियो ।
कार्नीले भने क्यानडाले आफ्नो अन्तरराष्ट्रिय सम्बन्धबारे कसैको निर्देशन स्वीकार नगर्ने बताउनुभयो । “हाम्रो संस्कृति वा हामी अन्तरराष्ट्रिय रूपमा कससँग सम्झौता गर्न सक्छौँ भन्ने विषयमा कसैले निर्देशन दिने छैन,” उहाँले पत्रकारहरूसँग भन्नुभयो ।
उहाँले क्यानडाले युरोपलाई अत्यावश्यक कच्चापदार्थ आपूर्ति गर्न तथा ठूलो परिमाणमा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) र हाइड्रोजन उपलब्ध गराउन सक्ने बताउनुभयो । साथै, एआई, कम्प्युटिङ, अन्तरिक्ष र भुक्तानी प्रणालीजस्ता रणनीतिक क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्नीले दुवै पक्षले निर्बाध डिजिटल व्यापार प्रवद्र्धन गर्न तथा युवा पुस्तालाई दुवै क्षेत्रका मुलुकमा काम र अध्ययन गर्ने अवसर विस्तार गर्नुपर्ने बताउनुभयो ।
भोन डेर लेयनले पनि इयूले प्रविधि, रक्षा उद्योग र आर्कटिक क्षेत्रमा क्यानडासँग सहकार्य बढाउन चाहेको बताउनुभएको छ । उहाँले प्रस्तावित साझेदारी ‘अरू कसैको विरुद्धमा नभई साझा शक्तिका लागि’ हुने स्पष्ट पार्नुभयो ।
क्यानडालाई इयूको ‘एसोसियट सदस्य’ बनाउने प्रस्तावको कानुनी स्वरूप भने स्पष्ट भइसकेको छैन । इयूका सन्धिहरूमा यस्तो दर्जाको स्पष्ट व्यवस्था छैन । इयूका सदस्य राष्ट्रहरूले गैरसदस्य मुलुकसँगको कुनै पनि नयाँ साझेदारी अनुमोदन गर्नुपर्ने हुन्छ ।
इयू र क्यानडाबीच यसअघि नै ‘सेटा’ स्वतन्त्र व्यापार सम्झौता कायम छ । सन् २०१६ यता दुवै पक्षबीच वस्तु तथा सेवाको व्यापार ८० प्रतिशतभन्दा बढीले बढेको छ ।