असोज १, २०८३ बिहिबार

सप्तरी, १ असोजः युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिनुभएकी बबिता पासवानको घर पुगेर आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

आज गृहजिल्ला राजविराज आउनुभएका मन्त्री यादवले राजविराज नगरपालिका–१४ पर्साहीस्थित पासवानको घर पुगेर अस्पतालमा भएको घटनाबारे जानकारी लिनुका साथै आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

उक्त घटनाबारे जानकारी प्राप्त भएलगत्तै दोषी देखिएकामाथि कारबाहीको प्रक्रिया अघि बढिसकेको मन्त्री यादवले बताउनुभयो । गत बुधबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ३० वर्षीया बबिता पासवान सुत्केरी हुन अस्पताल पुग्नुभएको थियो ।

आवश्यक रकमको जोहो गर्न नसकेपछि बबिताले सडकको पेटीमा छोरालाई जन्म दिनुभएको थियो । उक्त दृश्य सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो ।