भदौ २६, २०८३ शुक्रबार

विराटनगर, २६ भदौ  : यस वर्षको खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका पत्रकार शम्भू पोखरेललाई प्रदान गरिएको छ ।

पीताम्बर–खिलेश्वरी स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकार पोखरेललाई उक्त पुरस्कार प्रदान गर्नुभयो । सो पुरस्कारको राशि रु ११ हजार नगद र प्रमाणपत्र रहेको छ । 

त्यस अवसरमा प्रदेशमन्त्री शेर्पाले पत्रकारिता समाजको ऐना भएकाले समाजसँग जोडिएका जनचासोका विषयवस्तुलाई सत्यतथ्यमा आधारित भई समाचार बनाइनुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले प्रदेश सरकारले पत्रकारिता क्षेत्रको संरक्षण र  विकास गर्ने हेतुले प्रदेश सञ्चार प्रतिष्ठान गठन गरेको जानकारी दिनुभयो । त्यस अवसरमा नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका अध्यक्ष सुशिला पाठक, केन्द्रीय सदस्य कमल रिमाल, प्रतिष्ठानका सदस्य सचिव कविराज न्यौपाने, कोशी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष दीपक दाहाललगायतले मुलुकमा लोकतन्त्र स्थापना र अभिव्यक्ति स्वतन्त्रताका लागि सञ्चार क्षेत्रले पुर्याएको योगदानलाई राज्यले आत्मसात गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।