भदौ २६, २०८३ शनिबार

काठमाडौँ, २६ भदौः दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जाल (सावेन)ले अवैध वन्यजन्तु व्यापारविरुद्ध लड्न र क्षेत्रीय सहयोग सुदृढ गर्न सामूहिक प्रतिबद्धता जाहेर गरेको छ ।

    सावेनको दुई दिनसम्म काठमाडौँमा भएको पहिलो महासभा आज काठमाडौँ घोषणापत्र जारी गर्दैै सम्पन्न भएको छ । महासभाले दक्षिण एसियामा अवैध वन्यजन्तु व्यापारविरुद्ध लड्न क्षेत्रीय सहयोग सुदृढ गर्ने सम्बन्धी काठमाडौँ घोषणापत्र जारी गरेको हो ।

    घोषणापत्रले अवैध वन्यजन्तु व्यापारको रोकथाम, पहिचान र नियन्त्रण गर्न तथा गम्भीर वन्यजन्तु अपराधविरुद्धको प्रतिकार्य सुदृढ गर्न सदस्य राष्ट्रको राजनीतिक प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

    यसले सूचना तथा गुप्तचर जानकारीको थप प्रभावकारी आदानप्रदान, समन्वित कार्यान्वयन र फौजदारी न्यायसम्बन्धी सहयोग, वित्तीय अनुसन्धान, प्रविधि र अनुसन्धानका साथै रेन्जर तथा अग्रपङ्क्तिमा खटिने अन्य कर्मचारीको क्षमता, सुरक्षा र कल्याणमा थप ध्यान दिन आह्वान गरेको छ ।

    महासभाको अध्यक्षता कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले गर्नुभएको थियो भने सभामुख डोलप्रसाद अर्यालले महासभाको उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रलाई बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री अब्दुल अवाल मिन्टुले सम्बोधन गर्नुभएको थियो । महासभाको कार्यक्रमलाई परराष्ट्रमन्त्री शिशिर खनालले पनि सम्बोधन गर्नुभएको थियो ।

    महासभाले सन् २०११ मा भुटानमा सावेनको औपचारिक शुभारम्भको सम्झनामा प्रत्येक वर्ष ३० जनवरीलाई “सावेन दिवस”का रूपमा मनाउने सहमति पनि गरेको छ । महासभाले सावेन कार्यान्वयन योजना २०२६–२०३० अपनाएको छ र सन् २०२६÷२७ देखि २०२८÷२९ का लागि तीनवर्षीय कार्य तथा बजेट कार्यक्रमलाई अनुमोदन गरेको छ । प्राथमिकतामा क्षेत्रीय कार्यान्वयन र गुप्तचर सहयोग, फौजदारी न्यायसम्बन्धी प्रतिकार्य, क्षमता विकास, समुद्री तथा स्वच्छ पानीका वन्यजन्तुसम्बन्धी अपराध, अन्तर्राष्ट्रिय सहयोग, अनुसन्धान तथा ज्ञान व्यवस्थापन, माग न्यूनीकरण र संस्थागत सुदृढीकरण रहेका छन् ।

    महासभाले १ जनवरी २०२७ देखि लागू हुने गरी सदस्य राष्ट्रहरूका लागि वार्षिक योगदान अपनाएको छ । साथै, सावेनको संस्थागत आधारका रूपमा सदस्य राष्ट्रको स्वामित्व र आयोजक राष्ट्रको सहयोगलाई पुष्टि गर्दै त्यसलाई बाह्य वित्तीय, प्राविधिक तथा वस्तुगत सहयोगबाट परिपूरण गरिने जनाएको छ ।

    क्षेत्रीय गुप्तचर तथा कार्यान्वयन सहयोग, साइबर तथा डिजिटल अनुसन्धान, वन्यजन्तु फरेन्सिक, वित्तीय अनुसन्धान, फौजदारी न्याय, क्षमता विकास, समुद्री तथा स्वच्छ पानीका वन्यजन्तुसम्बन्धी अपराध, अन्तरराष्ट्रिय सहयोग, जनचेतना तथा क्षेत्रीय अनुसन्धानसम्बन्धी प्रस्ताव र निर्णयहरूको एउटा प्याकेज पनि अपनाइएको छ ।

    महासभाले आफ्नो कार्यविधि नियमावली पनि अपनाएको छ र भविष्यमा अन्य सदस्यको सहभागिता तथा सदस्यता प्रदानसम्बन्धी ढाँचामाथि पनि विचार गरेको छ । यस अघि ९ सेप्टेम्बरमा सम्पन्न सावेन कार्यकारी समितिको १५औँ बैठकले शासन, कार्यक्रम, वित्तीय तथा नीतिगत दस्तावेजको समीक्षा गर्दै महासभाको तयारीका लागि आधार तयार गरेको थियो ।

    महासभा अघि १० सेप्टेम्बरमा दक्षिण एसिया अवैध वन्यजन्तु व्यापार परिदृश्य कार्यशाला पनि आयोजना गरिएको थियो । सदस्य राष्ट्रहरूले आफ्ना राष्ट्रिय वन्यजन्तु अपराधका परिदृश्य, उदीयमान प्रवृत्ति, कार्यान्वयनसम्बन्धी अनुभव र सीमापार सहयोगका प्राथमिकताहरू प्रस्तुत गरेका थिए ।

    सावेनमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य छन् र यसको सचिवालय काठमाडौँमा रहेको छ । पहिलो महासभाले निरन्तर सहयोग, साझा ज्ञान र समन्वित कार्यमार्फत अवैध वन्यजन्तु व्यापारविरुद्ध दक्षिण एसियाको सामूहिक प्रतिकार्यलाई सुदृढ गर्ने दिशामा महत्वपूर्ण कोसेढुङ्गा स्थापित गरेको छ ।
–––