भदौ २६, २०८३ शनिबार

काठमाडौँ, २६ भदौ  : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर  १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतसहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बैठकको सिफारिसका आधारमा मन्त्रालयले प्रतियोगिताको मिति र आयोजना क्षेत्र टुङ्गो लगाएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ संस्करण २०८३ साल मंसिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेशका सुर्खेतलगायतका विभिन्न जिल्लामा आयोजना गर्ने निर्णय गरेको छ ।”

यसअघि राष्ट्रिय खेलकुदको नवौँ संस्करण २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको थियो । त्यसयता राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।

 दशौँ संस्करणलाई व्यवस्थित र सफल बनाउन मन्त्रालयले प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित सरोकारवालालाई आवश्यक तयारी तथा व्यवस्थापनका काम अघि बढाउन आग्रह गरेको छ ।

सबैको सहयोगबाट प्रतियोगितामा खेलाडीको उत्साहजनक सहभागिता, उदाहरणीय व्यवस्थापन तथा मर्यादित र अनुशासित खेल प्रदर्शन हुने र यसबाट राष्ट्रको गौरव उच्च हुने विज्ञप्तिमा जनाइएको छ ।