खोटाङ, २६ भदौः नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको आज सम्पन्न आठौँ जिल्ला अधिवेशन तथा ११औँ साधारणसभाबाट शेर्पा अध्यक्षमा सर्वसम्मत् चयन हुनुभएको हो ।
प्रेस युनियन खोटाङको नवनिर्वाचित जिल्ला अध्यक्ष शेर्पा नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाको उपाध्यक्ष हुनुहुन्छ । समायोजन खबर डटकमका सञ्चालक तथा द हिमालय टाइम्स दैनिकका खोटाङ सम्वाददाता रहनुभएका शेर्पा यसअघि प्रेस युनियन खोटाङको उपाध्यक्ष हुनुहुन्थ्यो ।
एघार सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्ष कृष्णकला राई, महिला सदस्यमा एनिशा राई, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा योगिन राई र कोषाध्यक्ष मनिता राई चयन हुनुभएको छ । जिल्ला सदस्यमा मनोज आचार्य, पदम हिङमाङ, मिलन आचार्य, दिनाराज कार्की र एल्जिसा राई चयन हुनुभएको छ ।
युनियनको प्रदेश महाधिवेशन प्रतिनिधिमा अमृत गिरी, पदम हिङमाङ, योगिन राई र एल्जिसा राई तथा सङ्घीय महाधिवेशन प्रतिनिधिमा कृष्ण आचार्य, दिलिप खत्री, उत्तम चौलागार्इं, राजकुमार भट्टराई, रविना सुवेदी खत्री र खिलन राई चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई युनियनका केन्द्रीय प्रतिनिधि कृष्ण आचार्यले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको छ ।
दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित जिल्ला अधिवेशन तथा साधारणसभाको उद्घाटन नेपाली कांग्रेसका कोशी प्रदेश समितिका महामन्त्री एवं प्रदेशसभा सदस्य भूपेन्द्र राईले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा जिल्लास्थित नेपाल पत्रकार महासङ्घका अध्यक्ष हरिवोल आचार्य तथा विभिन्न पेसागत सङ्घसङ्गठनमा आवद्ध पत्रकारहरूको उपस्थिति थियो ।