साउन २१, २०८३ बिहिबार

काठमाडौं — नेपाली कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता वितरण तथा अद्यावधिकसम्बन्धी समस्या समाधानका लागि जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई आवश्यक विवरण पठाउन निर्देशन दिएको छ।

महामन्त्री प्रदीप पौडेलद्वारा जारी परिपत्रमा सदस्यता वितरण र अद्यावधिकका क्रममा देखिएका समस्याको संस्थागत निर्णय गरी आधार र कारणसहित साउन २४ गतेभित्र सम्बन्धित केन्द्रीय प्रतिनिधिमार्फत वा सिधै सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा पठाउन भनिएको छ।

परिपत्रअनुसार निम्न समस्याका विवरण पठाउन आग्रह गरिएको छ:

  • सदस्यको नाम, ठेगाना, जन्ममिति, इमेललगायत विवरण सच्याउनुपर्ने वा सदस्यता वितरण तथा अद्यावधिकमा समस्या भएका विषय।
  • सिस्टम (इन्ट्री) मा सदस्यको नामसम्बन्धी समस्या।
  • नयाँ सदस्यका रूपमा अभिलेखीकरण भएको वा पुरानो सदस्यता नदेखिने जस्ता प्राविधिक समस्या।

केन्द्रीय कार्यालयले पठाइएका समस्या र सदस्यहरूको विवरण केन्द्रबाट मात्रै समाधान गरी सम्बन्धित निकायलाई जानकारी गराइने जनाएको छ।