:काठमाडौं — सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको साउन १५ देखि भदौ १५ गतेसम्मको सम्भावित एकमहिने कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक कार्यतालिका अनुसार यस अवधिमा प्रतिनिधि सभाको बैठक कुल १० दिन बस्नेछ।
कार्यतालिकाअनुसार साउन महिनामा २२, २४, २५ र २६ गते गरी चार दिन बैठक बस्नेछ भने भदौ १, २, ३, ८, ९ र १० गते गरी थप छ दिन बैठक हुने तय गरिएको छ।
सचिवालयका अनुसार यस अवधिका बैठकहरू मुख्यतः विभिन्न विधेयक पारित गर्ने तथा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल केन्द्रित हुनेछन्।
यस्तै, साउन २४ तथा भदौ ४, ५, ६ र ७ गते संसदीय समितिका बैठकका लागि समय छुट्याइएकाले ती दिन प्रतिनिधि सभाको पूर्ण बैठक बस्ने छैन।
संसद् सचिवालयले संसदीय अभ्यासलाई थप व्यवस्थित, प्रभावकारी र पूर्वानुमानयोग्य बनाउन यस्तो सम्भावित कार्यतालिका कार्यान्वयनमा ल्याइएको जनाएको छ।