साउन १७, २०८३ आइतबार

विश्वविख्यात कीर्तिमानी पर्वतारोही तथा सफल आरोही निर्मल पुर्जाको असामयिक निधनले सिंगो देश स्तब्ध र मर्माहत भएको छ। पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोका कारण उनको निधन भएको उनका आफन्त तथासम्बद्ध संस्थाले पुष्टि गरेका छन्।

पुर्जाको निधनप्रति नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान् गुरुङले एक शोक वक्तव्य जारी गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

नेता गुरुङले आफ्नो श्रद्धाञ्जली सन्देशमा हिमालको काखले उहाँको भौतिक शरीर हामीबाट टाढा बनाए पनि यो मुलुकको नाम विश्वमा चिनाउने उहाँको अमर गाथा इतिहासको पानामा स्वर्णिम अक्षरले लेखिने बताएका छन्।

आफ्नो साहस, दृढ संकल्प र अदम्य जोसले सगरमाथा लगायत विश्वका अग्ला चुचुराहरूमा नेपालको झण्डा फहराउँदै देशको शिर उचो बनाउने एक अद्वितीय कीर्तिमानी नक्षत्र देशले गुमाएको गुरुङको भनाइ छ। अप्ठ्यारो परिस्थितिमा पनि हार नमान्ने उनको जिन्दगीको संघर्ष सबैका लागि सधैं प्रेरणाको स्रोत भइरहने र देशप्रतिको योगदानलाई कहिल्यै नभुल्ने उनले उल्लेख गरेका छन्।

अन्तमा, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै नेता गुरुङले शोकसन्तप्त परिवारजन, आफन्तजन तथा सम्पूर्ण शुभचिन्तकहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन्।