साउन ८, २०८३ शुक्रबार

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कमजोर अवस्थामा रहेको सञ्चार क्षेत्रलाई सुदृढ, व्यावसायिक र जिम्मेवार बनाउन आवश्यक रहेको बताएका छन्।

सूचना तथा सञ्चार मन्त्रालयमा आज अनलाइन टीभी पत्रकार संघ, नेपालसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले स्वतन्त्र, उत्तरदायी र विश्वसनीय पत्रकारिताले मात्रै लोकतान्त्रिक मूल्य–मान्यतालाई बलियो बनाउने धारणा राखेका हुन्।

उनले सञ्चार क्षेत्रलाई थप प्रभावकारी बनाउन पत्रकारिता क्षेत्रको गुणस्तर, विश्वसनीयता र व्यावसायिक क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने बताए।

मन्त्री तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चार माध्यमको भूमिका अझ महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै डिजिटल पत्रकारितालाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

छलफलमा अनलाइन पत्रकारिताका चुनौती, सञ्चार क्षेत्रको विकास, नीति सुधार तथा पत्रकारको पेशागत सुरक्षालगायत विषयमा समेत छलफल भएको थियो।