साउन ८, २०८३ शुक्रबार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित दुई लाख २३ हजारभन्दा बढी वेबसाइट र एपमा पहुँच रोक लगाएको जनाएको छ।

प्राधिकरणका अनुसार चालु वर्षको फिफा विश्वकप प्रतियोगिता सुरु भएयता दुई लाख २३ हजार ५६८ वटा बेटिङ वेबसाइट तथा एप ब्लक गरिएको हो। सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीअनुसार यस्ता प्लेटफर्ममाथि निगरानी र नियन्त्रणलाई तीव्र बनाइएको छ।

शासकीय सुधार कार्यसूचीको ४२औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजीसँग सम्बन्धित वेबसाइट तथा एप २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था समेटिएको छ। सोही निर्णयपछि नेपालमा सञ्चालनमा रहेका यस्ता प्लेटफर्महरू क्रमशः बन्द गरिँदै आएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार पुराना वेबसाइट बन्द भए पनि नयाँ नाम र नयाँ डोमेनमार्फत पुनः सञ्चालनमा आउने प्रवृत्ति कायम रहेकाले निगरानीलाई निरन्तरता दिइएको छ। फिफा विश्वकपका बेला बेटिङ गतिविधि बढ्न सक्ने आकलनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोसमेत बढेपछि विशेष अभियान सञ्चालन गरिएको थियो।

यसका लागि प्राधिकरणले छुट्टै कार्यदल गठन गरी इन्टरनेट सेवा प्रदायक (आईएसपी)सँग समन्वय गर्दै शंकास्पद वेबसाइटका यूआरएल ब्लक गर्ने व्यवस्था मिलाएको जनाएको छ। प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार नयाँ–नयाँ वेबसाइट निरन्तर खुलिरहने भएकाले ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरी त्यस्ता प्लेटफर्मको खोजी र अवरोध गर्ने काम भइरहेको छ।

प्राधिकरणले अवैधानिक बेटिङ वा वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइटबारे जानकारी भए आफ्नो आधिकारिक सूचना प्रणालीमार्फत जानकारी गराउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ।