साउन ९, २०८३ शनिबार

कास्की - लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले आफ्नो राजनीतिक अधिकारको अर्थपूर्ण सुनिश्चितता र दबिएको प्रतिनिधित्व स्थापित गर्ने उद्देश्यसहित दीर्घकालीन राजनीतिक अभियानलाई तीव्र बनाएका छन्। सत्य, निष्ठा, इमानदारी र जनविश्वासलाई आधार बनाएर अघि बढ्ने प्रतिबद्धतासहित उनीहरूले मिशन ८४ लक्षित राजनीतिक तयारीलाई औपचारिक रूपमा अघि सारेका हुन्।

सातै प्रदेशबाट छनोट भएका ५० जना लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका राजनीतिक अभियन्ता कास्कीको पोखरामा आयोजित दुईदिने राजनीतिक बन्द प्रशिक्षणमा सहभागी भए। प्रशिक्षणमा सहभागीहरू विभिन्न राजनीतिक दलका सदस्य, सदस्यता लिने प्रक्रियामा रहेका तथा स्वतन्त्र उम्मेदवारका रूपमा तयारी गरिरहेका व्यक्ति हुन्। उनीहरूले आगामी निर्वाचनमा स्थानीय तह र प्रदेश तहमा उम्मेदवार बन्ने घोषणा गरेका छन्।

युरोपियन युनियनको आर्थिक सहयोग र एक्सन एडको समन्वयमा मायाको पहिचान नेपाल, समावेशी मञ्च नेपाल र लिड नेपालले सञ्चालन गरेको ‘ब्रेकिङ ब्यारियर (राजनीतिक बन्धन तोड्ने)’ परियोजनाअन्तर्गत उक्त बन्द प्रशिक्षण आयोजना गरिएको हो।

प्रशिक्षणका क्रममा सहभागी राजनीतिक अभियन्ताले पत्रकारसँग अन्तरक्रिया गर्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई भोट बैङ्कका रूपमा मात्रै प्रयोग नगर्न आग्रह गरे। उनीहरूले समुदायको राजनीतिक अधिकारलाई प्राथमिकताका साथ उठाइदिन सञ्चारमाध्यमसँग पनि अनुरोध गरे।

सहभागीहरूले नेपालमा करिब ९ देखि १० लाख हाराहारीमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको जनसंख्या रहेको दाबी गर्दै यति ठूलो समुदायलाई निरन्तर बेवास्ता गर्नु उचित नहुने बताए। समाजमा योगदान दिन र परिवर्तनको नेतृत्व गर्न आफूहरू सक्षम रहेको उल्लेख गर्दै उनीहरूले राजनीतिक दलहरूलाई सदस्यता दिएर मात्रै अल्झाइराख्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे।

पत्रकारसँगको अन्तरक्रियामा उनीहरूले निर्वाचनका बेला उम्मेदवार बनाउने आश्वासन मात्रै नदिन दलहरूलाई चेतावनीसमेत दिए। समावेशी देखाउनका लागि मात्रै होइन, नीति निर्माण तहसम्म पुग्ने अवसर सुनिश्चित गरिनुपर्ने उनीहरूको भनाइ थियो।

"हामी तयार भएका छौँ, दलहरूले उम्मेदवार बनाउन कन्जुस्याइँ नगर्दिनुहोस्," उनीहरूले भने, "आर्थिक रूपमा विपन्न भएकै कारण उम्मेदवार नबनाएर धोका नदिनुहोस्।"

सहभागीहरूले नैतिक मूल्यमा आधारित राजनीति दीर्घकालीन हुने धारणा पनि राखे। उनीहरूका अनुसार राजनीतिक लाभ केही समयका लागि मात्रै हुन सक्छ, तर इमानदारी, सत्य, निष्ठा र जनविश्वास नै लामो समय टिक्ने राजनीतिक आधार हुन्।

उनीहरूले नेपालमा समावेशी सहभागिताको अभ्यास भए पनि रूपान्तरणमुखी राजनीतिक प्रक्रिया अझै कमजोर रहेको बताए। सत्ता सञ्चालन तहमा सीमित व्यक्तिको निर्णय हाबी हुने, नेतृत्व परिवर्तन भए पनि कार्यशैली नबदलिने, पहुँचयुक्त राजनीतिक प्रक्रिया भए पनि सीमान्तकृत समुदायको सुनुवाइ नहुने, तथा नातावाद र कृपावादले रूपान्तरणकारी नेतृत्व विकास हुन नसकेको उनीहरूको धारणा थियो।

सहभागीहरूले समाजका सबै जाति, लिङ्ग, क्षेत्र र समुदायको समान सहभागिता सुनिश्चित गर्न, लामो समयदेखि पछाडि पारिएका तथा वञ्चित समुदायलाई अवसर र पहुँच दिलाउन, निर्णय प्रक्रियामा सबैको आवाज र हितको प्रतिनिधित्व गराउन तथा समानता, सामाजिक न्याय र विभेदरहित समाज निर्माण गर्न समावेशी नेतृत्व आवश्यक रहेको बताए।

उनीहरूका अनुसार राज्यका निकाय र संस्थाहरू समाजको वास्तविक विविधता अनुसार प्रतिनिधिमूलक हुनुपर्छ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक, महिला, दलित, अपाङ्गता भएका व्यक्ति लगायत सबै समुदायको आवाजलाई प्राथमिकतामा राख्ने नेतृत्वले मात्रै समाजमा रहेको विभेद र पूर्वाग्रह हटाउन, नयाँ सोच र सामाजिक परिवर्तनको नेतृत्व गर्न तथा देशको समग्र विकासमा सबैको सहभागिता बढाउन सक्छ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायसहित सबै नागरिकलाई समान अवसर उपलब्ध गराइनुपर्ने उनीहरूको जोड थियो।

प्रशिक्षक तथा पहिलो संविधानसभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले राजनीतिमा लाग्ने लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिलो पुस्ता तयार भएको बताए। उनले संविधान, कानुन, नीति तथा नियमको गहिरो अध्ययन गर्दै राजनीतिक दलहरूसँग निरन्तर संवाद गर्न सहभागीहरूलाई सुझाव दिए।

पन्तले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिमा अर्थपूर्ण सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै प्रतिनिधित्वको अभावकै कारण संविधानमा लेखिएका धेरै अधिकार प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए।

"सधैँ छुटिरहने भन्ने हुँदैन, अब नेतृत्वमा पुग्नुपर्छ," पन्तले भने, "दलहरूले समुदायलाई टोकनका रूपमा मात्रै नलिई अर्थपूर्ण प्रतिनिधित्वको ग्यारेन्टी गर्नुपर्छ।"

उनले राजनीतिक विचार, दर्शन, विधान, सार्वजनिक बोल्ने कला तथा राजनीतिक मुद्दा प्रभावकारी रूपमा उठाउने विषयमा सहभागीहरूलाई प्रयोगात्मक अभ्याससमेत गराएका थिए।

दुईदिने बन्द प्रशिक्षण उपयोगी भएको सहभागीहरूले बताएका छन्। प्रशिक्षणपछि सार्वजनिक रूपमा आत्मविश्वासका साथ बोल्ने क्षमता विकास भएको उनीहरूको अनुभव थियो। सहभागीहरूको उत्साहपूर्ण सक्रियता प्रशंसनीय रहेको एक्सन एडकी प्रतिनिधि सवनम पोखरेलले बताइन्। उनले परियोजनाको उद्देश्य र कार्यान्वयन अवधिबारे पनि जानकारी गराइन्।