साउन ११, २०८३ सोमबार

काठमाडौं । सुनसरीको देवानगन्जमा जारी तनावका बीच कर्फ्यू आदेशको अवज्ञा गर्दै प्रदर्शन भएपछि प्रशासनले नेपाली सेना परिचालन गरेको छ। आइतबार राति भएको झडपपछि उत्पन्न असहज अवस्थाले सोमबार पनि निरन्तरता पाएपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको हो।

जिल्ला प्रशासन कार्यालयले बिहानदेखि देवानगन्ज र आसपासका पाँच क्षेत्रमा कर्फ्यू लागू गरे पनि प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए। प्रदर्शनका क्रममा आगजनी र तोडफोडका घटना भएपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको प्रशासनले जनाएको छ।

यसअघि आइतबार राति देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको झडपमा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनामा अन्य नौ जना घाइते भएका छन्।

घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा निकायको उपस्थिति बढाइएको छ भने स्थिति सामान्य बनाउन प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। घटनाको कारण र त्यसपछिको अवस्थाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।