साउन ११, २०८३ सोमबार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा लगातार दुई खेल गुमाएको नेपाल आज (सोमबार) नामिबियाविरुद्ध मैदानमा उत्रँदै छ। खेल नेपाली समयअनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ।

शृङ्खलाको सुरुआती दुई खेलमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपालले लगातार हार बेहोरेको थियो। त्यसैले लिग–२ को अंकतालिकामा आफ्नो स्थिति सुधार गर्न नेपालका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ।

नेपाल पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको थियो। उक्त खेलमा नेपालले बनाएको १५८ रनको सामान्य लक्ष्य नामिबियाले दुई विकेट मात्र गुमाएर सहज रूपमा पूरा गरेको थियो। त्यसपछि दोस्रो खेलमा पनि नेपालले १५८ रनमै सीमित हुँदै नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोर्‍यो।

हाल लिग–२ को अंकतालिकामा नेदरल्यान्ड्स ३० खेलबाट ३६ अंकसहित तेस्रो स्थानमा रहेको छ। नेपाल र नामिबिया समान २४–२४ अंकका साथ क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन्। शीर्ष चारभित्र रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्ने लक्ष्य राखेको नेपालका लागि बाँकी खेलहरू ‘गर या मर’ को अवस्थामा पुगेका छन्।