काठमाडौँ, ३१ भदौः अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जानुहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँको भारत भ्रमण स्वीकृत गरेको उहाँको सचिवालयले जनाएको छ ।
उहाँ बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ । भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन् । विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
बिहीबार साँझ ५ः०० बजे उहाँले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नुहुनेछ । यस्तै, शुक्रबार अर्थमन्त्री डा वाग्लेले भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।
सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुहुने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उहाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । शुक्रबार नै अर्थमन्त्री डा वाग्ले भारत व्यापार सम्वर्द्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्नुहुने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुनुहुनेछ ।
शनिबार बिहान भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा अर्थमन्त्री सहभागी हुनुहुनेछ । शनिबार दिउँसो नै अर्थमन्त्री डा वाग्लेले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । उहाँ शनिबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको छ ।
---