कास्की, ३० जेठः दोस्रो संस्करणको पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल आजदेखि सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु महोत्सव आगामी असार ७ गतेसम्म सञ्चालन हुनेछ । खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी तथा प्रतिभामुखी बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
समितिका अध्यक्ष दीपकबहादुर गोदारले महोत्सवमा कुल ११ वटा खेल समावेश गरिएको जानकारी दिनुभयो । त्यसमध्येमा दुई वटा राष्ट्रियस्तरका प्रतियोगिता र पाँच वटा ‘ग्रासरुट’ तहका खेल कार्यक्रम रहेका छन् । साथै ह्विलचियर बास्केटबल, बौद्धिक अपाङ्गता दौड तथा दृष्टिविहीन क्रिकेट जस्ता समावेशी खेलहरू पनि महोत्सवमा समेटिएका छन् ।
अध्यक्ष गोदारले ग्रासरुट तहका खेल प्रतियोगितामार्फत नयाँ खेलाडीको प्रतिभा पहिचान तथा विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय स्तरमै रहेका सम्भावनायुक्त खेलाडीलाई अवसर प्रदान गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताहरू आयोजना गर्न लागिएको हो । यसले खेलकुदमा नयाँ प्रतिभाले स्थान पाउनेछन् भने खेल संस्कृति विकास हुनेछ ।”
महोत्सवको उद्घाटन गर्नुहुँदै पोखरा महानगर प्रमुख धनराज आचार्यले खेलकुद व्यक्तिगत स्वास्थ्य, अनुशासन र समग्र व्यक्तित्व विकासको महत्वपूर्ण आधार भएको बताउनुभयो । “विद्यालय तहदेखि नै खेलकुदको विकास र प्रवद्र्धन गर्न सकिए भविष्यमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुग्छ । महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिरहेको छ”, प्रमुख आचार्यले भन्नुभयो ।
महानगरले चालु आर्थिक वर्षका बाँकी खेल गतिविधि सम्पन्न गर्ने क्रममा खेल महोत्सव आयोजना गरिएको र आगामी वर्ष पनि खेल क्षेत्रलाई विशेष प्राथमिकता दिने उहाँले बताउनुभयो ।
महोत्सवअन्तर्गत दृष्टिविहीन क्रिकेट प्रतियोगिता सम्पन्न भइसकेको छ । यस प्रतियोगितामा टिम ‘बी’ विजेता तथा टिम ‘ए’ उपविजेता बनेका थिए । विजेता टोलीले रु २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टोलीले रु १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
कार्यक्रममा मार्सल अन्तरराष्ट्रिय मुवाथाई प्रशिक्षक दीपक श्रेष्ठलाई सम्मान गरिएको थियो ।
–––