असोज २, २०८३ शुक्रबार

काठमाडौँ, २ असोजः राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले वरिष्ठ तेक्वान्दो प्रशिक्षक सङ्गीना वैद्यलाई राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिएको छ । तालिम तथा प्रशिक्षण विभागको जिम्मेवारी पाउने उहाँ पहिलो महिला हुनुहुन्छ । 

सङ्गीनाले आठौँ र नवौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा स्वर्ण पदक जित्नुभएको थियो । उहाँले सन् १९९६ मा अस्ट्रेलियाको मेलबर्नमा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण पदक जित्नुभएको थियो ।

सङ्गीना छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुनुहुन्छ । उहाँले ग्रिसको एथेन्समा सन् २००४ मा भएको ओलम्पिक छनोट चरण पार गरेर खेल्नुभएको थियोे ।