असोज २, २०८३ शुक्रबार

काठमाडौँ, २ असोज : नेपाललाई आरोग्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ‘आरोग्य नेपाल लगानी सम्मेलन–२०२६’ आयोजना गरिएको छ ।टुरिजम इन्फो नेपाल र वल्र्ड टुरिजम नेटवर्कको संयुक्त आयोजनामा आरोग्य पर्यटन वर्ष–२०२७ को पूर्वसन्ध्यामा ‘आरोग्य नेपाल लगानी सम्मेलन–२०२६’ आयोजना गरिएको हो ।

सम्मेलनमा सार्वजनिक–निजी साझेदारी, पूर्वाधार विकास, लगानी वृद्धि तथा दक्ष जनशक्तिको विकासमा जोड दिइएको छ । उक्त सम्मेलनमा सरकारी अधिकारी, पर्यटन व्यवसायी, लगानीकर्ता, आतिथ्य (हस्पिटालिटी) क्षेत्रका विज्ञ तथा आरोग्य पर्यटन क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।कार्यक्रमका वक्ताहरूले नेपालको हिमाली वातावरण, प्राकृतिक स्रोत, आयुर्वेद, योग, ध्यान र सांस्कृतिक सम्पदालाई विशिष्ट वेलनेस पर्यटकीय उपजका रूपमा विकास गरी विदेशी पर्यटक तथा लगानी आकर्षित गर्न सकिने सम्भावना रहेको बताएका छन् ।

सम्मेलनमा बोल्दै रक्षा मन्त्रालयका सचिव इन्दु घिमिरेले सरकारले ‘राष्ट्रिय वेलनेस पर्यटन रणनीति २०२६–२०३५’ स्वीकृत गरिसकेको जानकारी दिँदै सन् २०२७ लाई ‘नेपाल वेलनेस पर्यटन वर्ष’ का रूपमा घोषणा गरिएको बताउनुभयो । उहाँले गन्तव्यको प्रतिस्पर्धात्मकता, गुणस्तर तथा मापदण्ड, जनशक्ति विकास र बजार प्रवद्र्धन मुख्य रहेको बताउनुभयो ।लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत याङ्की क्याबले बोर्डले आरोग्य पर्यटन क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत  दीपकराज जोशीले नेपालमा आरोग्य पर्यटनको प्रचुर सम्भावना भए पनि पर्याप्त लगानी र पूर्वाधारको अभाव रहेको बताउनुभयो ।वल्र्ड टुरिजम नेटवर्कका अध्यक्ष जुर्गेन स्टीनमेट्जले वेलनेस पर्यटकहरू साधारण पर्यटकको तुलनामा धेरै समय बस्ने र बढी खर्च गर्ने भएक्राले नेपालले मूल्यमा प्रतिस्पर्धा गर्नुको सट्टा मौलिक र विशिष्ट अनुभव प्रदान गर्नुपर्ने बताउनुभयो ।
नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) का कार्यकारी निर्देशक डा दिव्यराज पोखरेलले वेलनेस पर्यटनको दिगो विकासका लागि दक्ष जनशक्ति अनिवार्य रहेको बताउनुभयो ।
छलफलमा काव्य रिसोट्र्स एन्ड स्पाका संस्थापक तथा प्रबन्ध निर्देशक हितेश गोल्छा, ओमस्टोन होटल्स लिमिटेड (दुसित थानी धुलिखेल) का प्रबन्ध निर्देशक रमेश हमाल र पार्क भिजार्ड रिसोर्टकी कार्यकारी निर्देशक अमृतअञ्जली शाक्यले झन्झटिलो कानुनी प्रक्रियालाई सरलीकरण गर्न र निश्चित समयका लागि लक्षित लगानी प्याकेजहरू ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा टुरिजम इन्फो नेपालका प्रबन्ध निर्देशक विश्व भण्डारीले वैदेशिक लगानी आकर्षित गर्न र नेपालको वेलनेस पर्यटन क्षेत्रको विकासलाई गति दिन सरकार र निजी क्षेत्रबीच बलियो समन्वय आवश्यक रहेको बताउनुभयो ।