काठमाडौँ, २ असोजः गोर्खा प्रमोसन्सको आयोजनामा गोर्खा बक्सिङ च्याम्पियनसिपको दोस्रो संस्करण शनिबार काठमाडौँमा आयोजना हुने भएको छ । प्रतियोगिताबारे आयोजकले आज यहाँ पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
ठमेलस्थित क्लब नोभामा हुने प्रतियोगितामा नेपाल र भारतका खेलाडीबीच विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक गोर्खा प्रमोसन्स गोर्खा प्रमोसन्सका अध्यक्ष सन्तोष शाहले जानकारी दिनुभयो । प्रतियोगितामा महिलातर्फ ५२ किलो तौल समूहमा नेपालकी पुनम पुन मगर र भारतकी मेहेकप्रीत सिद्धुबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै पुरुषतर्फ ६९ किलो तौल समूहमा नेपालका भरत चन्द र भारतका अङ्कित कुमारबीच खेल हुनेछ । यस्तै, ५२ किलो तौल समूहमा नेपालका अर्पिल राना र भारतका शानबोरलाङ मार्बानियाङबीच प्रतिस्पर्धा हुनेछ । अन्डरकार्डतर्फ ५० किलोमा नेपालका फुङलाङ काम्बाङ र भारतका लक्ष्य सुनारिया तथा ५७ किलोमा नेपालका मिलन सार्की र भारतका साहिल चौहानबीच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी ६३ दशमलव पाँच किलोतर्फ गुल्मीका रोविन खत्री र मकवानपुरका सोहन राई तथा ५२ किलोमा काठमाडौँका विवेक मगर र चितवनका आयुष श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा अन्तरराष्ट्रिय एमएमए फाइटर रवीन्द्र ढाँटको उपस्थिति रहने आयोजकले जनाएको छ ।
नेपाली बक्सरलाई प्रतिस्पर्धा र अनुभवका लागि मञ्च उपलब्ध गराउँदै उनीहरूलाई भविष्यमा विश्व च्याम्पियनसिपको स्तरसम्म पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाहले बताउनुभयो । आगामी दिनमा पनि प्रतियोगिताले निरन्तरता दिइने उहाँले बताउनुभयो ।