इस्लामावाद, ३० जेठ :अमेरिका–इरान वार्ताको अन्तिम चरणमा पुगेको समाचारसँगै पाकिस्तान र साउदी अरबले प्रस्तावित बुँदाहरूमा सम्झौताको सहमति भएकोमा स्वागत गरेका छन् ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार र साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल साउदले अमेरिका–इरान वार्ताको अन्तिम चरण पुगेकोमा स्वागत गरेका हुन् ।
टेलिफोन कुराकानीका क्रममा दुई मन्त्रीबीच अमेरिका र इरानबीच जारी वार्ताका बारेमा छलफल भएको र यस प्रक्रियाले यस क्षेत्रमा दिगो शान्ति र स्थिरता कायम हुने आशा व्यक्त गरेको पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “साउदीको विदेश मन्त्रीले वार्ता प्रक्रियाको क्रममा मध्यस्थता र संवादको समर्थनमा पाकिस्तानले गरेको निरन्तर प्रयासको प्रशंसा गरेका छन् ।”
दुवै पक्षले यसै महिनाको अन्त्यमा इजिप्टमा हुने चार देशका विदेश मन्त्रीहरूको बैठकको तयारीबारे पनि छलफल गरेका पनि विज्ञप्तिमा जनाइएको छ ।
पाकिस्तानले यस क्षेत्रमा वार्ता प्रवद्र्धन गर्ने र तनाव कम गर्ने कूटनीतिक प्रयासलाई सक्रिय रूपमा समर्थन गर्दै आएको छ ।