जेठ ३०, २०८३ शनिबार

ढाका, ३० जेठ : बङ्गलादेशको नवनिर्वाचित सरकारले भारत महत्वपूर्ण क्षेत्रीय साझेदार रहेको भन्दै आपसी सम्मान, साझा आर्थिक लाभ र जनस्तरको सम्बन्धका आधारमा सहकार्यलाई बलियो बनाउने बताएको छ । 

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुमायुन कबिरले भारतसँग रचनात्मक सहकार्यको महत्वमा जोड दिँदै शनिबार भन्नुभयो, “छिमेकी देशहरूले आपसी सम्मान, साझा आर्थिक लाभ र जनस्तरको सम्बन्धका आधारमा सहकार्यलाई बलियो बनाउन मिलेर काम गर्नुपर्छ ।”

भारतसँगको बङ्गलादेशको सम्बन्धबारे एएनआईसँग कुरा गर्दै कबिरले भूगोलको वास्तविकता र क्षेत्रीय सहयोगको आवश्यकतालाई जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “यस क्षेत्रभित्र सामान्य कुटनीतिक सम्बन्ध हुनु राम्रो हो । भारत हाम्रो छिमेकी हो, विगत केही बर्ष उनीहरुले हामीलाई छानेनन्, हामीले पनि उनीहरुलाई छानेनौँ । तर हामी छिमेकी हौँ । हामी सँगै बस्नु पर्छ, हामीले यस क्षेत्रमा सँगै काम गर्नुपर्दछ र सहकार्य गर्नुपर्छ ।” 

उहाँले भन्नुभयो, “यदि दुवै देशका नेतृत्वमा यो मानसिकता भएमा हामी वास्तवमै दुई असल छिमेकी बन्न सक्छौँ । हामी सँगै काम गर्न सक्छौँ । हामी व्यापार र लगानी खोल्न र विस्तार गर्न सक्छौँ,” कबिरले भन्नुभयो । 

कबिरले बङ्गलादेश  र भारतबीच व्यापार र सम्पर्कका विभिन्न क्षेत्रमा साझेदारी हासिल गर्नुपर्ने महत्वमाथि जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “अर्थव्यवस्थाको फाइदाको लागि, एक निष्पक्ष व्यवस्था आवश्यक छ, र साझेदारी हुनुपर्छ । कनेक्टिभिटीको क्षेत्रमा पनि यही कुरा लागू हुन्छ । बजारमा पहुँच धेरै महत्त्वपूर्ण छ। यो फाइदा लिन म कुनै समस्या देख्दिनँ ।” 

“साझेदारी एक अर्काको सार्वभौमिकताको लागि पारस्परिक सम्मानमा निर्माण हुनुपर्दछ, र यो वास्तवमै दुवै पक्षका लागि सबै उपायमा लाभदायक हुनु आवश्यक छ,” बङ्गलादेशका प्रधानमन्त्रीका सल्लाहकार कबिरले भन्नुभयो । उहाँले भारतसँग पनि अन्तरसम्बन्ध बढाउनुपर्ने कुरामा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “यदि कनेक्टिभिटीले बङ्गलादेश का जनतालाई फाइदा पुर्याउँछ र हामीले भारतभित्र बजार पहुँच प्राप्त गर्छौं भने त्यसमा म कुनै समस्या देख्दिनँ ।”

उहाँले भन्नुभयो, “विगत १५ वर्षमा बङ्गलादेशमा लोकतान्त्रिक सरकार थिएन र बङ्गलादेश  र भारतका जनताबीच कुनै सम्बन्ध पनि थिएन । यसको एउटै मात्र सम्बन्ध शेख हसिनासँग थियो । अहिले हामीले भारतबाट सङ्केत पाइरहेका छौँ कि भारत र बङ्गलादेशका जनताबीचको सम्बन्ध फराकिलो हुँदै गएको छ ।”

सल्लाहकार कबिरले दुवै देशका विभिन्न तहका जनताबीच आदान–प्रदान र अन्तरक्रियाको महत्त्व दिँदै दुवै देशका जनताबीच विश्वास निर्माण गर्नु सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्ने कुरामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन प्राज्ञिक, सांस्कृतिक अभियन्ता, राजनीतिज्ञ, व्यवसायी र जनस्तरमा अन्तरक्रिया बढाउनुपर्छ ।”

उहाँले भन्नुभयो, “हामीलाई सुरक्षामा पनि सहकार्य चाहिन्छ, तर सुरक्षा सहयोग अलिकति शङ्का र विश्वासमा निर्भर छ । त्यसैले हामी दुवै देशका जनताबीच विश्वास बढाउन आह्वान गरिरहेका छौँ ताकि सुरक्षा सहयोग स्वाभाविक रूपमा बढ्न सकोस्।”

उहाँले भन्नुभयो, “हामी यो गर्न सक्षम हुनेछौँ । चुनौतीलाई सम्बोधन गरेर अघि बढ्नेछौँ ।” 

कबिरले निकट भविष्यमा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले भारत भ्रमण गर्ने सङ्केतुमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “भारत हाम्रो महत्वपूर्ण क्षेत्रीय साझेदार हो । प्रधानमन्त्रीको अनुकुलतामा कुनै बिन्दुमा भ्रमण हुनेछ।”