जेठ ३०, २०८३ शनिबार

मस्को, ३० जेठ : युक्रेनको सार्वजनिक ऋण सन् २०२२ देखि ११० अर्ब डलरभन्दा बढीले वृद्धि भएको रुसी समाचार निकाय (तास) ले शनिबार सार्वजनिक एक समाचारमा जनाएको छ । यसमा बाह्य र घरेलु दुवै दायित्व समावेश भएको समाचारमा उल्लेख गरिएको छ । 

सन् २०२२ को सुरुदेखि अहिलेसम्म सार्वजनिक ऋण दोब्बरभन्दा बढी भएको छ । देशको अर्थ मन्त्रालयको तथ्याङ्कमा आधारित तासको रिपोर्ट अनुसार युक्रेनको  सार्वजनिक ऋण ९७.९६ अर्ब अमेरिकी डलरबाट २०८.९७ अर्ब डलर पुगेको वा  १११.०१ अर्ब डलर बढेको छ ।

युक्रेनको बाह्य ऋणमा वृद्धि सन् २०२२ को ५७.२ अर्ब डलरबाट १६२.७३ अर्ब डलर पुगेको छ । यो लगभग तीन गुणा वृद्धि हो । यस रकममध्ये युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई लगभग १० अर्ब डलर तिर्नु पर्छ, बाँकी विभिन्न सहयोगी देशहरूलाई तिर्नुपर्छ ।

किएभको ऋणमा तीव्र वृद्धि सैन्य सहायता र अनुदानको रूपमा पश्चिमा सहयोग प्राप्त गरे पछि आएको हो । जनसाङ्ख्यिकी र सामाजिक अध्ययन संस्थानलाई उद्धृत गर्दै तासले लेखेको छ, “अनुमानित कूल दुई करोड ८० लाख जनसङ्ख्या रहेको युक्रेनमा जनसङ्ख्याको आधारमा प्रत्येक नागरिकले अब सार्वजनिक ऋणमा लगभग सात हजार ५०० डलर ऋणभार रहनेछ । 

किएभको बढ्दो आर्थिक जोखिमको बीचमा, भेरखोव्ना राडाका सांसदहरूले देशको विद्यमान ऋण तिर्न मात्र करिब ३५ वर्ष लाग्ने अनुमान गरेका छन् । युक्रेनले आफ्ना पश्चिमी सहयोगीहरूबाट वित्तीय सहयोग खोजिरहेको छ । युरोपेली सङ्घले हालै  युक्रेनको लागि ९० अर्ब युरो ऋण प्याकेजको घोषणा गरेको छ जुन निकासा हुर्ने तयारीमा छ र यो ड्रोनको लागि छुट्याइएको पहिलो किस्ता हो ।

फ्रान्सको इिभियनमा हुने जी–७ शिखर सम्मेलनमा युक्रेनको द्वन्द्व पनि छलफलको एक प्रमुख हिस्सा हुने अपेक्षा गरिएको छ । 

शिखर सम्मेलन भूराजनीतिक सङ्कट, आर्थिक सहयोग, कृत्रिम बौद्धिकता र विकास साझेदारीमा केन्द्रित हुने अपेक्षा गरिएको छ । स्रोतका अनुसार मङ्गलबार शिखर सम्मेलनको पहिलो दिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उपस्थितिमा युक्रेनसम्बन्धी सत्र हुनेछ, त्यसपछि इजिप्ट, कतार, संयुक्त अरब इमिरेट्स र साउदीसहित मध्य पूर्वी देशहरू सम्मिलित छलफल हुनेछ ।

स्रोतका अनुसार शिखर सम्मेलनको प्राथमिकताहरू मध्ये एक समकालीन सङ्कट अर्थात् युक्रेनको द्वन्द्व र इरान, इजरायल, गाजा, लेबनान र स्ट्रेट अफ हर्मुजको पश्चिम एशियामा बढ्दो तनावबारे अन्तर्राष्ट्रिय बहस हुनेछ ।