कास्की, ३० जेठः कास्की जिल्ला क्रिकेट सङ्घले क्रिकेट क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका राष्ट्रिय खेलाडी, प्रशिक्षक, अम्पायर, अफिसियल तथा मैदान कर्मचारीलाई सम्मान गरेको छ । पोखरामा आज आयोजित सङ्घको चौथो अधिवेशनका अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा कास्कीको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीसम्मको यात्रा तय गरेका पुरुषतर्फ अर्जुन कुमाल र महिलातर्फ रचना चौधरीलाई जनही रु १० हजार नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको छ । त्यसैगरी, नेपाल ‘ए’ पुरुष राष्ट्रिय टोलीका सदस्य विपिन खत्री तथा नेपाल अन्डर-१९ टोलीका खेलाडी सुभाष भण्डारी, सिब्रिन श्रेष्ठ र सोहेल कुँवरलाई प्रशंसापत्र, दोसल्ला र जनही रु सात हजार नगद प्रदान गरिएको हो ।
खेलाडी प्रोत्साहन पुरस्कारअन्तर्गत कृष्ण पौडेल, रोहित चन्द, यशोदा भुजेल र चन्द्रमाया बराल सम्मानित हुनुभयो । उहाँहरूलाई प्रमाणपत्र, माला तथा जनही रु पाँच हजार नगदसहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा नेपाली महिला राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रिजन प्रजू, अन्तरराष्ट्रिय अम्पायर सञ्जयकान्त सिग्देल तथा अन्तरराष्ट्रिय स्कोरर आशिष बराललाई अन्तरराष्ट्रिय अम्पायर/प्रशिक्षक सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
क्रिकेटको विकासमा योगदान पुर्याएका प्रशिक्षक ऋषिकेश शर्मा पौडेल, विधान श्रेष्ठ र विजय राउत तथा अम्पायर अर्जुन उपाध्याय र दुर्गा बहादुर चन्दलाई बधाई ज्ञापन गरिएको थियो । साथै, गण्डकी प्रदेश खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्त भएका पूर्वखेलाडी रवीन्द्रबहादुर प्रजूलाई विशेष सम्मान गरिएको थियो ।
उत्कृष्ट योगदान दिने मैदान कर्मचारीतर्फ क्युरेटर प्रदीप राउत, मैदान कर्मचारी सीता विक र माया विक सम्मानित हुनुभयो । प्रशिक्षकतर्फ दीपेश खत्री, विधान श्रेष्ठ, गोविन्द प्रधान र ऋषिकेश शर्मा पौडेललाई मायाको चिनो र मालासहित सम्मान गरिएको सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले कास्कीमा क्रिकेटको विकासमा खेलाडी, प्रशिक्षक, अम्पायर, अफिसियल तथा सहयोगीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा क्रिकेटलाई अझ व्यावसायिक, व्यवस्थित र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा सङ्घले कास्कीको क्रिकेट विकास यात्रालाई समेटेर प्रकाशन गरेको विशेष स्मारिकाको समेत विमोचन गरेको थियो ।