जेठ १५, २०८३ शुक्रबार

नारायणगढ (चितवन), १५ जेठः नेपालको निर्माण तथा इञ्जिनियरिङ क्षेत्र डिजिटल प्रविधितर्फ उन्मुख भइरहेको अवस्थामा भरतपुरमा इञ्जिनियरलाई ‘विल्डिङ इन्फरमेसन मोडेलिङ (बिम)’ सम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ । 

    नेपाल इञ्जिनियर्स एसोसिएसन, नेपाल इञ्जिनियर्स एसोसिएसन भरतपुर च्याप्टर र नेपाल बिम फोरमको संयुक्त आयोजनामा आजदेखि सुरु भएको उक्त तालिममा भरतपुरका विभिन्न संस्थामा आबद्ध ३२ जना इञ्जिनियर सहभागी छन् । तालिममार्फत कृत्रिम बौद्धिकता (एआई), डिजिटलाइजेसन तथा आधुनिक निर्माण प्रविधिबारे इञ्जिनियरलाई अभ्यस्त गराउने उद्देश्य राखिएको भरतपुर च्याप्टर इञ्जिनियर  अध्यक्ष दीपक खनालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ‘बिम’ प्रविधिले संरचनाको डिजिटल ढाँचा (मोडेल) तयार गरी योजना, डिजाइन, निर्माण तथा व्यवस्थापनलाई एकीकृत रूपमा सञ्चालन गर्न सहयोग पु¥याउँछ । यस प्रविधिमा इञ्जिनियर, आर्किटेक्ट तथा ठेकेदारले एउटै डिजिटल मोडेलमा काम गर्ने गर्दछन् । डिजाइनमा परिवर्तन भएमा सबै पक्षमा तत्काल अद्यावधिक हुने भएकाले गल्ती कम हुनुका साथै काम छिटो र व्यवस्थित हुने विश्वास गरिएको छ ।

    कार्यक्रममा एसोसियसनका केन्द्रीय अध्यक्ष इञ्जिनियर सुभासचन्द्र बरालले यस्ता तालिमले इञ्जिनियरहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आधारभूत ज्ञानले इञ्जिनियरिङ क्षेत्रमा आधुनिक प्रविधिको महत्व बुझाउन मद्दत गर्ने उल्लेख गर्नुभयो । उहाँले ‘नलेज सेयरिङ तथा नेटवर्किङ’का माध्यमबाट विभिन्न समस्याको सामूहिक समाधान खोज्न सकिने धारणा राख्नुभयो । 

    देशभरका विभिन्न च्याप्टरमार्फत ४० भन्दा बढी सत्र सञ्चालन गरी एक हजार पाँच सयभन्दा बढी इञ्जिनियरलाई यस्ता तालिम प्रदान गरिएको अध्यक्ष इञ्जिनियर बरालले जानकारी दिनुभयो । एसोसियसनका महासचिव इञ्जिनियर  विनोदप्रकाश पण्डितले समयको मागअनुसार इञ्जिनियरहरूको क्षमता ‘अपग्रेड’ हुनुपर्ने बताउनुभयो । उहाँले आवश्यकताअनुसार यस्ता तालिमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

    नेपाल बिम फोरमका प्रशिक्षक इञ्जिनियर सुदीप थापाले एआईको युगमा इञ्जिनियरहरू समयअनुसार अद्यावधिक हुन आवश्यक रहेको बताउनुभयो । उहाँले ‘विल्डिङ इन्फरमेसन मोडेलिङ (बिम)’ भनेको सूचना समेटिएको डिजिटल ढाँचा निर्माण प्रक्रिया भएको स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा एसोसियसन बागमती प्रदेश च्याप्टरका इञ्जिनियर बलराम पुडासैनीले इञ्जिनियरिङ क्षेत्रमा स्मार्ट प्रविधिको प्रयोगका लागि ‘बिम’ ढाँचा आवश्यक रहेको बताउनुभयो । भरतपुर च्याप्टरका पूर्वअध्यक्ष इञ्जिनियर विराट घिमिरेले इञ्जिनियरहरूले समयअनुसार नयाँ प्रविधिसँग आफूलाई अनुकूल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आधुनिक प्रविधिको प्रयोगसँगै सर्वसाधारणले बुझ्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

    भरतपुर च्याप्टरका सचिव इञ्जिनियर अजय पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रम च्याप्टर अध्यक्ष इञ्जिनियर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा तालिम लिने इञ्जिनियर, पूर्वअध्यक्ष, सदस्य तथा विभिन्न इञ्जिनियरिङ क्षेत्रमा आबद्ध इञ्जिनियरहरूको सहभागिता रहेको थियो । तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।